चार दशकपछि माओवादी नेतृत्वमा विकल्पको खोजी

एक महिनाअघि सत्ताच्युत भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा नेतृत्वको विकल्पको बहस प्रारम्भ भएको छ । २०४२ सालदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको उक्त पार्टीमा करिब चार दशकपछि विकल्पको खोजीका लागि बहस शुरू भएको हो।

माओवादी केन्द्रमा सर्वशक्तिमान मानिएका पूर्वप्रधानमन्त्री प्रचण्डको अगाडि नतमस्तक हुने पदाधिकारीसहितका नेताहरूको स्वभाव यो पटकको स्थायी समिति बैठकमा परिवर्तित देखियो। जारी बैठकमा आइतबार उपमहासचिव जनार्दन शर्माले पार्टीमा नयाँ नेतृत्वबारे लिखित प्रस्ताव अघि सारेर बहसमा ल्याए । उनले पार्टीको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरे ।

अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव रहेको एक पदाधिकारीले बताए। तर, अधिकांश नेताहरूले यसलाई बाहिर ल्याउन चाहेका छैनन्। पार्टी महासचिव देव गुरुङले नेतृत्वको विकल्पमा छलफल भएको विषयमा आफूलाई जानकारी नभएको बताए

नेपाल समाचारपत्रको जिज्ञासामा महासचिव गुरुङले भने– ‘अहिले नेतृत्वको विकल्पका विषयमा छलफल भएको होइन। स्थायी समिति बैठकमा उपमहासचिव शर्माले ल्याएको प्रस्तावमा नेतृत्व परिवर्तनको विषय आएजस्तो मलाई लाग्दैन, यो के हो मैले पनि बुझ्नुपर्छ । बैठकमा मैले त्यस्तो प्रस्ताव आएको सुनिनँ ।’

अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्ने नेता शर्माले प्रस्ताव अघि सार्नुभएको छ। यद्यपि, यो विषयलाई पार्टीका नेताहरूले बाहिर ल्याउने हिम्मत गर्न सकेका छैनन्। नेतृत्वकै वरिपरि रहेर एकल निर्णयलाई स्वीकार गर्दै आएको पदाधिकारीहरूले नेतृत्वकै विकल्पका विषयमा कुरा उठाउँदा पार्टीभित्र सिद्धिन सक्ने त्रास उनीहरूको छ।

यसअघि प्रचण्डको विकल्पमा बहस उठाएका पूर्वप्रधानमन्त्री एवं माओवादीका तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई पार्टीबाट विस्थापित हुनुपरेको थियो । उनले नेतृत्वमा विकल्प खोज्दै आफैं अघि सर्ने संकेत गरेपछि पार्टीभित्र पेलानमा परेपछि अन्ततः आफ्नै योजनाका बनाएको पार्टी छाड्न बाध्य हुनुपरेको नेताहरूले बताएका छन्। कम्युनिस्ट पार्टीभित्र फरक मत राख्नेहरू सोही दलमा सहज रूपमा रहन सक्ने अवस्था नरहेको एक वाम विश्लेषकले बताए।

उनले भने– ‘सामान्य फरक मत राख्नेहरूलाई त माओवादीमा टिक्न गाह्रो हुन्छ। अझ नेतृत्वकै विकल्प खोज्नेहरूलाई कम्युनिस्ट पार्टीमा सहज हुने कुरै भएन । कम्युनिस्ट पार्टीको विधानमा यो व्यवस्था नभए पनि अनुशासनका नाममा व्यवहारतः यो अवस्था छ।’

नेता जनार्दनले साउन २५ गतेदेखि शुरू स्थायी कमिटी बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमा उनले उल्लेख गरे ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्नुपर्नेछ ।’

यस्तै, हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ । नयाँ परिस्थितिअनुसार रूपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी रहेको भन्दै पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरणका विकल्प प्रस्ताव गरेको बताए ।

बैठकमा पार्टीका अर्का उपमहासचिव वर्षमान पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार राखे । उनले भने ‘अबको नेतृत्व अविच्छिन्न हुनुहुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ। अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो। अब त्यस्तो हुनुहुँदैन। अहिले नै नेतृत्वको विकल्प खोज्ने बेला आएको छैन । तर, कार्यकारी तोक्ने गरी विधानमै उल्लेख गर्नुपर्छ।’

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नेता शर्माको प्रस्तावलाई पार्टी बैठकमा छलफल चलाउनुपर्ने धारणा व्यक्त गरे। उनले भने– ‘पार्टी उपमहासचिवले ल्याएको विषयमा व्यापक छलफल गर्नुपर्ने हो। एकै जनाले आजीवन पार्टीको नेतृत्व गरिरहनुपर्छ भन्ने होइन । तर, वर्तमान अवस्थामा पार्टीको नेतृत्व गर्नेखालको नेता खासै देखिएको छैन।’ माओवादी अध्यक्ष प्रचण्ड २०४२ सालमा मसालको महासचिव हुँदै हालसम्म पार्टी नेतृत्वमा छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *