पेरिस ओलम्पिकमा ७९ औं भएकी नेपाली धाविका सन्तोषीको यस्तो छ प्रतिक्रिया (भिडियो)

नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा म्याराथनको रूट केही कठिन भएकाले सोचेअनुरूप प्रदर्शन गर्न कठिन बताएकी छन् ।

पेरिस ओलम्पिकको महिला म्याराथनमा ९२ धाविकामध्ये उनी ७९ औं स्थानमा खुम्चिएकी छन् । जहाँ ११ धाविकाले म्याराथन पूरा गर्न नै सकेनन् ।

म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आए पनि पेरिस पुगेपछि रूट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताइन् ।

उनले आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उल्लेख गरिन् । सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधारभन्दा पनि दूरी पार गर्ने तवरबाट दौडिएको बताइन् ।

यो म्याराथनमा नेदरल्याण्ड्सकी सिफन हसन दुई घण्टा २२ मिनेट ५५ सेकेण्डका साथ स्वर्ण जित्न सफल भइन् । उनले ओलम्पिक रेकर्ड राखिन् ।

इथोपियाकी टिगस्ट एसिफाले रजत र हेलेन ओबिरीले कास्य पदक जिते । एसिफाले दुई घण्टा २२ मिनेट ५८ सेकेण्ड समय लगाउँदा हेलेनले दुई घण्टा २३ मिनेट १० सेकेण्डमा दूरी पार गरिन् ।

सन्तोषीले भने दुई घण्टा ५५ मिनेट ६ सकेण्डको समय खर्चिन् । पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरे । कुनै पनि खेलाडीको प्रदर्शन सुखद् रहन सकेन ।

अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन । सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिस्पर्धा हो ।

यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए । सन्तोषीको करियरको यो दोस्रो अन्तर्राष्ट्रिय म्याराथन हो । बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन-२०२४ मा उनले स्वर्ण जितेकी थिइन् । त्यसमा उनले निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेण्डमा पार गरेकी थिइन् ।

यो नै उनले दौडिएको पहिलो र एकमात्रै म्याराथन हो । त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन् । गत १९ औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन् । सन्तोषीको मुख्य प्रतिस्पर्धा १० हजार मिटर दौड हो । यसै विधामा उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक पनि जितेकी छन् ।

नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् । ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेका थिए ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर