प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरबारमा भएको भेटमा उनीहरूबीच नेपाल-भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको छ ।

भेटमा परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।

विदेशसचिव मिस्री नेपाली समकक्षी पराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका हुन् ।

सोमबारसम्मको नेपाल भ्रमणमा उनले अन्य उच्चस्तरीय भेटवार्ताहरू पनि गर्ने छन् ।

यसअघि आइतबार नै उनले काठमाडौंको नरदेवीस्थित नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका थिए । सो भवन भारत सरकारको सहयोगमा निर्माण भएको हो ।

विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि भेट्ने कार्यक्रम छ ।

उनलाई आइतबार साँझ नेपाली समकक्षी लम्सालले रात्रिभोज दिने कार्यक्रम पनि छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *