भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

भारतको कूटनीति र विदेश मामिलामा के छ उनको योगदान ?

भारतका पूर्वविदेशमन्त्री कुँवर नटवर सिंहको निधन भएको छ । उनको शनिबार राति ९५ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको दिल्ली नजिकै गुरूग्रामस्थित मेदान्ता अस्पतालमा निधन भएको हो । उनी दुई साताअघि अस्पताल भर्ना भएका थिए ।

उनको सोमबार लोधी रोडस्थित श्मशानघाटमा अन्तयेष्टि गरिने छ । समाचार संस्था पीटीआईका अनुसार अन्तिम संस्कारका लागि परिवारका सदस्यहरू उनको जन्मभूमिबाट दिल्ली पुगेका छन् ।

सिंह भारतका एक कुशल कूटनीतिज्ञ र राजनीतिज्ञ थिए । उनी मनमोहन सिंह नेतृत्वको यूपीए सरकारमा सन् २००४ देखि २००५ सम्म विदेशमन्त्री थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक्स ह्यान्डलमा उनीसँगको तस्बिर राख्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । सिंहको कूटनीति र विदेश नीतिमा विशेष योगदान रहेको मोदीले उल्लेख गरेका छन् ।

नटवर सिंहको कूटनीतिक र राजनीतिक जीवन
१६ मे १९३१ मा राजस्थानको भरतपुरमा जन्मेका नटवर सिंहले भारतीय विदेश सेवा अधिकारीका रूपमा आफ्नो करियर सुरू गरेका थिए । उनी राजपरिवारका थिए । उनी पाकिस्तान, अमेरिका र संयुक्त राष्ट्रका लागि भारतका राजदूत पनि रहे ।

उनी सन् १९५३ मा भारतीय विदेश सेवामा छनोट भएका थिए, जुन उनले १९८४ मा छोडे ।

नटवर सिंह राजस्थानको भरतपुरबाट कांग्रेसको टिकटमा चुनाव लडेर लोकसभा सांसद बनेका थिए । १९८५ मा उनी राज्यमन्त्री नियुक्त भए र उनलाई स्टिल, कोइला र खानी तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइयो । सन् १९८६ मा उनी विदेश राज्यमन्त्री बने ।

सिंह सन् १९८७ मा न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण र विकास सम्मेलनको अध्यक्ष निर्वाचित भएका थिए र उनले संयुक्त राष्ट्र महासभाको ४२ औं सत्रमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए ।

उनले ‘द लिगेसी अफ नेहरू : अ मेमोरियल ट्रिब्युट’, ‘टेल्स फ्रम मोडर्न इन्डिया’, ‘ट्रेजर्ड एपिस्टल्स’ र उनको आत्मकथा ‘वन लाइफ इज नट इनफ’ लगायत दर्जनौं पुस्तकहरू पनि लेखेका छन् ।

१९५३ मा २२ वर्षको उमेरमा भारतीय विदेश सेवा आईएफएसमा सामेल भएपछि सिंहले बेलायत (१९७३-७७) मा भारतको उपउच्चायुक्तको रूपमा सेवा गरे र १०७७ मा जाम्बियामा भारतको उच्चायुक्त बने । विदेश मन्त्रालयमा उनले सचिवका रूपमा पनि काम गरे । उनले १९७१ देखि १९७३ सम्म पोल्याण्डका लागि भारतको राजदूतका रूपमा काम गरे । यस्तै उनी १९८० देखि १९८२ सम्म पाकिस्तानका लागि भारतको राजदूत रहे ।

सिंहले दिल्लीको सेन्ट स्टिफन्स कलेजमा इतिहास अध्ययन गरेका थिए र क्याम्ब्रिज, बेलायत र चीनमा पेकिङ विश्वविद्यालयमा पनि अध्ययन गरे । सन् १९८३ मा नयाँ दिल्लीमा असंलग्न शिखर सम्मेलनको तयारी समितिको प्रमुखका रूपमा काम गरेपछि उनलाई भारतको सर्वोच्च नागरिक पुरस्कार पद्मविभूषण प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *