अहिलेसम्म भ्रष्टाचार गरिनँ, अब पनि गर्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । लायन्स क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने बताए ।

देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए ।

उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य तय गरेर अघि बढेको बताए । प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।

‘गरिबी छ । बालबालिकाहरू खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । म ती बच्चाबच्चीहरूले खाना नपाएर रोएको देख्दा आँखामा आँसु आउँछ । म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति आफ्नो खल्तीमा सार्न सक्छु ? म सक्दिनँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण म भ्रष्टाचार गर्दिनँ । मलाई लाग्छ, म एउटा पोलिटिक्स गर्ने मान्छे तर लायन्ससँग मेरो भावना मिल्छ । मलाई राज्यबाट केही लिनु छैन ।’

प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । उनले लायन्सले इमान्दार भएर मानवीय सेवाका क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर