आन्दोलनका स्वरूप परिवर्तन गरेर जनतामा जान्छौं : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरूप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा सोबारे छलफल भएको हो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरूप बनाई नयाँ ढंगबाट जनतामा जानेबारे अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेको बताए । उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र पारिस्थितिकीय कार्यभारका बारेमा पनि धारणा राखेको जानकारी दिए ।

‘अध्यक्षले आज ८ औं महाधिवेशनमा विचारको संश्लेषण गरेका थियौं, अब अहिलेका लागि मार्गनिर्देशक सिद्धान्त त्यही नै हो । अब विगतका संश्लेषणहरूको अध्ययन गर्नुपर्छ । पछिल्लो अवस्थाको ठोस विश्लेषण गर्ने कुरा राख्नुभयो । पार्टी सुदृढीकरण गर्ने कुरा राख्नुभयो,’ प्रवक्ता सापकोटाले भने, ‘परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरूको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने र त्यसका लागि सुदृढीकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ । आन्दोलनका स्वरूप पनि नयाँ ढंगबाट सञ्चालन गर्ने कुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने, नयाँ कार्यक्रमसहित जनतामा जाने कुरामा जोड दिएर राख्नुभएको छ ।’

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरू परशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *