पारोका प्रशिक्षक शर्मा भन्छन्– यसपल्ट राम्रो चुनौती दिनेछौं

पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले चुनौती प्रश्तुत गर्ने बताएका छन् ।

आगामी साउन २९ गते दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो र नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । सोही प्लेअफ खेल्न शनिवार नेपाल आइपुगेको पारोका प्रशिक्षक शर्माले यसपटक क्षमतावान स्वदेशी र विदेशी खेलाडी अनुवन्धित गरिएकाले आफ्नो टोली बलियो रहेको विश्वास गरे ।

तीन पटक विश्वकप खेलिसकेका जापानिज खेलाडी केइसुके होण्डाको आगमनले अन्य खेलाडीलाई पनि प्रोत्साहन मिलेको उनले उल्लेख गरे । प्रशिक्षक शर्माले ट्याक्टिकल रूपमा होण्डाले टोलीलाई मजबुत बनाएको विश्वास व्यक्त गरे ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्लो दुई अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेको थिएन । अहिले अन्तर्राष्ट्रिय मान्यता फर्किएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । पारोका प्रशिक्षक शर्मा आफ्नो प्रतिद्वन्दी चर्च ब्वाइजका बारेमा राम्रो जानकार छन् । चर्च ब्वाइजमा अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेको र विदेशी खेलाडीकोबारे पनि जानकारी नै रहेको उनले बताए । पछिल्लो पटक दशरथ रंगशाला खेल्न गाह्रो भएपनि यस पटक ग्राउण्डको कन्डिसन अनुसार तयार भएर आएको उनको भनाई छ ।

पारोका कप्तान किन्ले वाङचुकले पछिल्लो भ्रमणमा राम्रो हुन नसकेको उल्लेख गर्दै यसपल्ट तयारी राम्रो भएकाले आफ्नो टोली सकारत्मक लक्ष्यसहित नेपाल आएको बताए । अहिले भुटानमा लिग खेलेर आएकाले टोली सन्तुलित रहेको र होण्डाको आगमनले टोली थप मजबुत बनेको उनको विश्वास छ । त्यसैले यसपल्ट जित्नैका लागि आफ्नो टोली आएको पारोको कप्तान वाङचुक बताउँछन् ।

उनले टोली बनाउन क्लबले धेरै लगानी गरेकाले आफूहरू केही दबाबमा पनि हुने उल्लेख गरे । लामो समयदेखिको तयारी र धेरै विदेशी खेलाडी भएकाले पनि प्रदर्शन राम्रो हुने उनको आशा छ । कप्तान किन्ले आफ्नो टोली कृत्रिम टर्फमा खेलेको र १÷२ दिनको तयारीमा दशरथ रंगशालामा एडजस्ट हुन कठिन हुने बताए । चर्च ब्वाइजको बारेमा केही भिडियो हेरेको र नेपाली टोलीमा पनि बलियो रहने उनको आशा छ ।

चर्च ब्वाइजले पनि शुक्रवार मात्र पत्रकार सम्मेलन गरेर प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताएको थियो । यद्यपि, पारोमा ११ जना विदेशी खेलाडी रहेकाले केही सचेत भएर खेल्नुपर्ने चर्च ब्वाइजका प्रशिक्षकको भनाइ थियो । उनले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लबमा आवद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भैरहेको उल्लेख गरेका थिए । च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेकी थियो । यद्यपि, यस पटक एएफसीले प्रारम्भिक चरणमा जतिपनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ ।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा चर्च ब्वाइजले खेल्दै छ । एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडीलाई चर्च ब्वाइजले अनुबन्धित गरिसकेको छ । चर्च ब्वाइजमा तीन विदेशी खेलाडी छन् । पारो एफसीले जापानबाट तीन विश्वकप खेलिसकेका केसुकी होन्डालाई अनुबन्धित गरेको छ । युरोपियन क्लब एसी मिलानलगायतबाट खेलिसकेका ३८ वर्षे होन्डाले स्न २०१८ देखि २०२३ सम्म कम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षण समालेका थिए । पारोले उनीबाहेक सर्बियाका गोलकिपर मिलोस सुपिच, जापानिज विंगर कोकी नारितासँगै सर्बियाका अन्य दुई खेलाडी, नेपालबाट उत्कृष्ट प्रदर्शन गरिसकेका विलियम ओपोकीसहित घानाका तीन खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

चर्च ब्वाइज युनाइटेडमा अनन्त तामाङ (कप्तान), एरिक विष्ट (उप कप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बो कुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) छन् । पारोसँगको खेलका लागि जनरल प्यारापिटतर्पm दुई र भिआइपीतर्पm पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर