भारतीय अनुदानमा तीन ठूला पेट्रोलियम पूर्वाधार निर्माण हुने

भारतीय अनुदानमा तीन ठूला पेट्रोलियम पूर्वाधार निर्माणको सुनिश्चितता भएको छ । बिमस्टेक सम्मेलनका लागि भारत पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्यहाँको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग अलग्गै छलफल गरेर भारतीय अनुदानमा अमलेखगन्ज–चितवन र सिलगढी–झापा पाइपलाइन तथा झापा भण्डारणगृह निर्माणको टुंगो लगाएका हुन् ।

मन्त्री भण्डारीसँगको भ्रमण दलमा रहेका वाणिज्य मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भारतीय अनुदान सहयोगमा पेट्रोलियम परियोजना निर्माणको टुंगो लागेको जानकारी दिए । ‘भारतले अनुदानमा परियोजना निर्माण गरिदिने टुंगो लागेको छ । अब कुनै अलमल छैन,’ उनले भने ।

दुवै देशका सहसचिवस्तरीय बैठकले भारतीय अनुदानमा बन्ने परियोजनाको सिफारिस गर्ने र सरकारले अनुमोदन गरेपछि निर्माण सुरु हुने उनले जानकारी दिए । ‘अब चाँडै दुवै देशका सहसचिवले नेतृत्व गर्ने बैठक बस्छ । उक्त बैठकले अनुदान सहायतामा बन्ने परियोजनाको सिफारिस गरेपछि निर्माण प्रक्रिया अघि बढ्छ,’ सहसचिव अधिकारीले भने ।

एक वर्षअघि जेठ ०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएका वेला समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको लगानी रहने गरी अमलेखगन्ज–चितवन तथा सिलगढी–झापा पाइपलाइन र झापामा भण्डारणगृह निर्माण गर्ने समझदारी भएको थियो । उक्त समझदारीलाई दुवै देशका तेल कम्पनीले ६ महिनाभित्र टुंग्याएर निर्माण थाल्ने सर्त राखिए पनि भारतले ‘ऋण वा अनुदान’ कस्तो लगानी गर्ने भन्ने विषयमै अलमल थियो ।

हाल भारत भ्रमणमा रहेका उद्योगमन्त्री भण्डारीले भारतीय पेट्रोलियममन्त्री हरदीपसिंह पुरीसँग भेट गरी पेट्रोलियम परियोजनाका बारेमा छलफल गरेका थिए । सो छलफलमा भारतले अनुदानमा परियोजना निर्माण गरिदिने सुनिश्चित भएको हो ।

सो छलफलमा सहभागी नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पनि मन्त्रीस्तरमा भएको छलफलमा परियोजना निर्माणका लागि अनुदान सहयोग गर्ने विषयले प्राथमिकता पाएको बताए । उद्योगमन्त्री भण्डारीसँगको भेटलाई लिएर उत्साहित भएको भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंहले सामाजिक सञ्जालमार्फत बताएका छन् । पूर्वाधार निर्माणको तयारीस्वरूप आयल निगम र आइओसीको संयुक्त कार्यदलले तीनवटै परियोजनाको स्थलगत अध्ययन सकाएका छन् । भारतले अनुदान सहयोगमै निर्माण गरिदिएको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट निगमले चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना बनाएको छ । यहाँ एक लाख किलोलिटर क्षमताको भण्डारणगृह भने आफ्नै खर्चमा तयार गर्ने निगमको योजना छ ।

त्यस्तै, भारतको पश्चिम बंगालस्थित आइओसीको सिलगढी टर्मिनलबाट झापाको मेचीनगर–१३ स्थित निगमले खरिद गरेको जग्गासम्म करिब ५० किलोमिटर लामो पाइपलाइन र त्यहाँ भण्डारणगृह बनाउन लाग्ने लागतसमेत आइओसीले व्यहोर्ने निगमको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर