बङ्गलादेशको आन्दोलनले आयात निर्यातमा सामान्य प्रभाव
बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो ।
बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो परिमाणमा आयात हुने गरेको छ । बङ्गलादेशमा लामो समयदेखि भएको आन्दोलनका कारणले आयातनिर्यातमा प्रभाव परेको छ ।
नेपाल दाल, चामल, तेल उद्योग सङ्घका सदस्य वृजेश अग्रवालले नेपालबाट बङ्गलादेश गएका सामान केही दिनअघि नाकामै रोकिएको जानकारी दिए ।
आन्दोलनका कारणले आयातनिर्यात नै प्रभावित भएको छ, उहाँले भन्नुभयो, “यसको असर दीर्घकालीन रूपमा नभए पनि एक महिनासम्म पर्ने देखिन्छ ।” नेपालबाट थोरै सामान निर्यात भए पनि बङ्गलादेशबाट धेरै सामान आउने गरेको हुँदा त्यसको प्रभाव व्यवसायीलाई पर्ने उनले बताए । अहिले नाका खुला भए पनि प्रभाव भने कायम रहेको भनाइ छ ।
नजिकिँदै गरेको तिज र दसैँलाई लक्षित व्यापारीले बङ्गलादेशबाट सामान ल्याउने तयारी गरेकोमा आन्दोलनका कारण नेपाल सामान आइपुग्न ढिलाई हुने भनाइ छ । व्यापारविज्ञ रविशङ्कर सैजुुले बङ्गलादेशको राजनीति अवस्था स्थिर नहुने बेलासम्म नेपालको व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने बताए ।
बङ्गलादेशसँग नेपालको व्यापार सानो भएकाले त्यसको प्रभाव ठुलो नहुने उहाँको भनाइ छ । नेपालको व्यापार भारतसँग धेरै छ, बङ्गलादेशसँगै न्यून भएकाले आन्दोलनले दीर्घकालीन रूपमा प्रभाव नपर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेले बङ्गलादेशमा नयाँ सरकार बनिसकेकाले आयात निर्यात नियमित भइसकेकाले त्यसको प्रभाव नपर्ने बताए । पछिल्लो समयको आन्दोलनले दुईरतीन दिन नाकामा सामान्य अवरोध भए पनि आन्दोलन सकिएर नयाँ सरकार बनिसकेकाले नेपालको व्यापारमा प्रभाव नपर्ने भनाइ छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बङ्गलादेशको आन्दोलनका कारण असार अन्तिम सातादेखि आयातनिर्यातमा सामान्य अवरोध भए पनि हाल सामान्य हुँदै गइरहेको जानकारी दिए । मेची भन्सार कार्यालयबाट बङ्गलादेशका लागि न्यून परिमाणमा आयातनिर्यात हुन्छ । दुईचार दिन नाका रोकिए पनि राजस्व सङ्कलनमा कमी नआएको बताए ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ नेपालबाट ४६ करोड ३१ लाख बराबरको सामग्री निर्यात भएकोमा बङ्गलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाख बराबरको आयात भएको छ ।
बङ्गलादेशबाट गत वर्ष झन्डै चार अर्ब रुपियाँको आयात भए पनि नेपालबाट न्यून निर्यात हुँदा व्यापार घाटा भने उच्च रहेको छ । नेपालको बङ्गलादेशसँग गत आवमा तीन अर्ब ६७ करोड रुपियाँ व्यापार घाटामा रहेको छ । आव २०७९र८० मा नेपालबाट ५७ करोड चार लाख रुपियाँ बराबरको निर्यात हुँदा बङ्गलादेशबाट छ अर्ब ४६ करोडको सामान आयात भएको थियो ।
यस्तै आव २०७८/७९ मा नेपालबाट ७२ करोड रुपियाँको सामान निर्यात हुँदा ११ अर्ब २० करोड रुपियाँको सामान आयात भएको थियो । यस्तै आर्थिक २०७७/७८ मा ६७ करोड चार लाख रुपियाँको निर्यात हुँदा १० अर्ब ७६ करोड चार लाख रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।
बङ्गलादेशबाट आलु, स्ट्रेप्सिल, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामग्री, केही औषधी, जुस, ब्याट्री, खाद्यान्न, रेडिमेट गार्मेन्ट, औषधिलगायत २० प्रकारका सामग्री आयात हुने गरेको छ । नेपालबाट भने जडीबुटी, च्यावनप्रास, मुसुरोको दाल, अलैँची, कफीलगायतका सामग्री निर्यात हुने गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
- भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा.राणा
- रविले प्रधानमन्त्रीलाई भने- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौ
- चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रुपमा फर्किँदै
- नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
प्रतिक्रिया