आइतबार नेपाल भ्रमणमा आउँदै भारतीय विदेशसचिव मिस्री

भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।

नेपाली समकक्षी परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणमा मिस्रीले आगामी आइतबार र सोमबार (साउन २८ र २८ गते) नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् ।

भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विदेशसचिव मिस्री नेपाल भ्रमणमा आउने जानकारी गराएको छ ।

नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ताहरू गर्नेछन् । नेकपा (एमाले) र नेपाली कांग्रेसबीचकाे समीकरणमा नयाँ सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

यस्तै विदेशसचिवका रूपमा मिस्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ । उनी गत जुलाइमा विदेशसचिव नियुक्त भएका थिए ।

उनको नेपाल भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, सांस्कृतिक र जनता-जनताबीचको सम्बन्ध छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न भई र नयाँ परियोजनाहरू अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ ।

को हुन् मिस्री ?
मिस्री कूटनीति र सुरक्षाका राम्रो जानकार हुन् । यसअघिका विदेशसचिव विनयमोहन क्वात्राको कार्यकाल सकिएपछि उनलाई विदेशसचिवमा नियुक्त गरिएको हो ।

मिस्री चीन, स्पेन र म्यानमारका लागि भारतीय राजदूत भइसकेका छन् । उनीसँग राजदूतभन्दा तल्लो ओहदामा श्रीलंका र पाकिस्तानस्थित भारतीय उच्च आयोग (राजदूतावास) मा काम गरेको अनुभव छ ।

यसैगरी उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन प्रधानमन्त्रीद्वय डा. मनमोहन सिंह र आईके गुजरालको निजी सचिवका रूपमा पनि काम गरिसकेका छन् ।

भारतको कश्मिरमा ७ नोभेम्बर १९६४ मा जन्मेका मिस्री १९८९ मा विदेश सेवामा प्रवेश गरेका थिए । उनी ५ मे २०२० मा भारत-चीन सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच तनाव हुँदा चीनका लागि भारतीय राजदूत थिए । उनी २०१९ को सुरूआतदेखि २०२१ को अन्तिमसम्म चीनका लागि भारतीय राजदूत थिए ।

त्यसअघि उनी स्पेन र म्यानमारका लागि भारतीय राजदूत रहे । उनले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रूपमा काम गरे ।

मोदीसँग मात्र नभएर उनी इन्द्रकुमार गुजराल र डा. मनमोहन सिंहका पालामा पनि प्रधानमन्त्रीको निजी सचिव थिए । सन् २०१८ देखि २०२१ मा चीनका लागि उनी राजदूत भएर फर्केपछि उनलाई सरकारले उपराष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

विदेश सेवाको दौरान उनले बेल्जियम, पाकिस्तान, अमेरिका, श्रीलंका र जर्मनीमा पनि काम गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर