बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगरिने बताएका छन् ।

शुक्रबार विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपूरा कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताए । उनले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताए ।

अधिकार दिने कुराहरूमा भएका कमीकमजोरी सच्याउन र समाजका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उनले स्पष्ट पारे ।

‘यो सरकार संविधानको पालना गराउनको लागि, संविधानमा अपूरो भएका कुराहरूलाई संशोधन गर्ने, संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘विधि, प्रक्रिया पूरा गरेर गर्ने हो । अधिकार दिनुपर्नेमा कमीकमजोरी भइरहेको छ । समाजमा उठेका असन्तुष्टिका सवालहरूलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर अझ समाजमा राम्रो वातावरण बनाउनका लागि यो सरकारले काम अगाडि बढाउनेछ ।’

उनले कांग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताए ।

उनले २०७२ सालमा ल्याएको संविधानले दिएका अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताए । उनले २०७२ को संविधानले दिएका अधिकार कार्यान्वयन गर्न र कमीकमजोरीहरू सच्याउनकै लागि संविधान संशोधन गरिने बताए ।

उनले संघीयता, गणतन्त्र, समावेशितालगायतका कुराहरूलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *