यस्तो बन्यो बंगलादेशमा अन्तरिम सरकार, मन्त्रिमण्डलमा को-को ?

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखको रूपमा शपथ लिएका छन् ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्वविपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा शपथ गराएका हुन् । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । शपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।

उनका लागि अब प्रमुख कार्य बंगलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।

अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ ।

यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।

सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा शुरू भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन् । उनी राजीनामा दिएर देश छाडेर गएकी छन् ।

सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुस ओलम्पिकका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । उनी बिहीबार मात्रै कडा सुरक्षाबीच ढाका फर्किएका हुन् । आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताएका थिए ।

युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले शपथ लिएका छन् । सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद छन् । उनीहरूले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

अन्यमा पूर्वविदेशसचिव तौहिद हुसेन र पूर्वमहान्यायाधिवक्ता हसन आरिफ छन् । पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा शपथ लिएका छन् । उनलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर