सरकारले खारेज गर्याे राष्ट्रिय सुरक्षा सल्लाहकार पद
सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको हो ।
बिहीबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यसबारे जानकारी दिएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० जेठमा राष्ट्रिय सुरक्षा सल्लाहकार पद सिर्जना गरी तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्त गरेको थियो । ३ महिनापछि अवकाश पाउन लागेका बेला वैरागीले मुख्यसचिवबाट राजीनामा दिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाएका थिए ।
तर, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनसँगै वैरागीले राजीनामा दिइसकेका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी संघीय ऐन आउनै बाँकी छ । पुरानो ऐनमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहने व्यवस्था छैन ।
प्रतिक्रिया