कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव : सयदिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गरौं

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सयदिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव प्रस्तुत भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनका अनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरू प्रवेश भएका छन् । जसमा महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरी प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्तावउपर छलफल गर्ने प्रस्ताव छ । उनले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताए । उनले भ्रातृ संगठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्तावबारे पनि छलफल हुने बताए ।

उनले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासनसम्बन्धी विषयमा भएका प्रगति विवरण प्रस्तुत गरेको पनि जानकारी दिए । उनले पार्टीका विभिन्न रिक्त पदहरू पूर्ति गर्ने बारेमा पनि छलफलको प्रस्तावको विषय बनेको बताए । क्रियाशील सदस्यताको नयाँ र नवीकरणको विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने उनले बताए ।

विदेशस्थित जनसम्पर्क समितिहरू विधानअनुकूल र त्यहाँको व्यावहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको उनले बताए । पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलका लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भई जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रस्तावित भएको बताए । समसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने उनले बताए ।

बैठक बिहीबार दिउँसो १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए । नुवाकोटको सूर्यचौरमा भएको हेलिकोप्टर दुर्घटनाप्रति बैठकले दुःख व्यक्त गरेको उनले बताए ।

बैठकले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *