शेख हसिनाका छोरा भन्छन् : बंगलादेश अब अर्को पाकिस्तान बन्नेछ (अन्तर्वार्ता)

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले बंगलादेश अब अर्को पाकिस्तान बन्ने बताएका छन् । सरकारी सेवामा कोटा प्रणालीविरूद्ध देशमा जारी हिंस्रक प्रदर्शन र त्यसपछिको राजनीतिक उथलपुथलपछि उनको यस्तो टिप्पणी आएको हो ।

वियन न्यूजका कूटनीतिक संवाददाता सिद्धान्त सिबलसँगको अन्तवार्तामा उनले देशमा भइरहेको प्रदर्शनबारे चिन्ता व्यक्तसहित यसलाई ‘अल्पसंख्यकहरूमाथिको आक्रमण’ का रूपमा व्याख्या गरे ।

सरकारविरोधी प्रदर्शनले उग्ररूप लिएपछि सोमबार शेख हसिना पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएकी थिइन् । त्यसकाे दाेस्राे दिन उनका छाेराले यस्ताे प्रतिक्रिया जनाएका हुन् ।

हसिनाका छोरा वाजेदले वियन न्यूजसँगको अन्तवार्तामा भने, ‘उहाँले सबै गरिसकेपछि, सबै विकासपछि, बंगलादेश अब पाकिस्तान हुनेछ ।’

बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गर्ने घोषणा सोमबार नै गरिसकेको छ ।

हसिनाका छोराले कसरी अन्तर्राष्ट्रिय समुदाय आफ्नी आमाबारे यस्तो र उस्तो भन्दै आलोचना गर्न व्यस्त थियो भन्नेबारे पनि अन्तवार्तामा बताए ।

हसिना १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहिन् । उनी बंगलादेशमा सर्वाधिक साशन गर्ने नेता हुन् । यसले देशमा स्थिरता देखिएको थियो, जसले यस क्षेत्रलाई सबभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रमध्ये एक बनायो ।

प्रस्तुत छ हसिनाका छोरा वाजेदसँग बंगलादेशमा विकसित पछिल्लो सामाजिक र राजनीतिक घटनाक्रमबारे वियन न्यूजका पत्रकार सिबलले लिएको अन्तवार्ताको अनुवाद :

सिद्धान्त सिब्बल :बंगलादेशको विकासलाई कसरी हेर्नुहुन्छ ?
सजीव वाजेद : बंगलादेशको विकास भयानक छ । यसको अराजकता, कानुनको शासन छैन । भीडहरू सडकमा दौडिरहेका छन्, घरहरू, कारखानाहरू तोडफोड गर्दै छन् र मैले सुनेको छु कि उनीहरू अहिले अल्पसंख्यकहरूलाई आक्रमण गरिरहेका छन् । तपाईंलाई थाहा छ, आतंकवादीहरूले अल्पसंख्यकहरूलाई र हिन्दु मन्दिरहरूमा आक्रमण गरिरहेका छन् । त्यसैले बंगलादेश वास्तवमा अराजकताको अवस्थामा छ ।

सिद्धान्त सिबल : त्यसोभए के तपाईंले आफ्नी आमासँग कुरा गर्नुभयो त जो अहिले भारतमा हुनुहुन्छ ?
सजीब वाजेद : हो, मैले आज बिहान उहाँसँग कुरा गरेँ । उहाँ राम्रो मुडमा हुनुहुन्छ तर बंगलादेशका जनतासँग धेरैभन्दा धेरै निराश हुनुहुन्छ । उहाँले सबै गरिसकेपछि, सबै विकासपछि, बंगलादेश अब पाकिस्तान हुनेछ ।

सिद्धान्त सिबल : उहाँलाई कुनै पनि समय चाँडै फर्काउने कुनै योजना ?
सजीब वाजेद : विल्कुल छैन । उहाँ ७७ वर्षकी हुनुभयो । यो उहाँको अन्तिम कार्यकाल हुन लागेको थियो । जसरी पनि उहाँ रिटायर हुन लाग्दै हुनुहुन्थ्यो । त्यसैले उनीहरू अहिले हाम्रा अवामी लिगका नेताहरूलाई निशाना बनाइरहेका छन् र अन्तरिम सरकारले अवामी लिगलाई पनि समावेश गर्दैन, त्यसैले हामीले किन चिन्ता गर्ने ? जनताले आफ्नो रोजाइ गरेका छन् र उनीहरूले योग्य नेतृत्व पाउनेछन् ।

सिद्धान्त सिबल : भविष्यमा राजनीतिमा आउने तपाईंको कुनै योजना ?
सजीव वाजेद : छैन । मेरो परिवारले योसहित तीन पटक कूको सामना गरिसकेको छ, अब हामीलाई पुग्यो । हामी बंगलादेश बचाउन थाकेका छौं । बंगलादेशले अब आफ्नो समस्या आफैं सम्हाल्न सक्छ। । यो सबै हाम्रो समस्या होइन ।

सिद्धान्त सिबल : हामीले शेख मुजिबुर रहमानको भिजुअलहरू पनि देख्यौं मूर्तिहरू तोडफोड भएको, यी घटनाक्रमलाई कसरी हेर्नुहुन्छ ?
सजीव वाजेद : म देख्छु कि बंगलादेशका जनता धेरै कृतघ्न हुँदै छन्, उनीहरू धेरैभन्दा धेरै कृतघ्न छन् र उनीहरूले पाएको नेतृत्वको हकदार छन् । यो उनीहरूको समस्या हो । अब मेरो रहेन ।

सिद्धान्त सिबल : त्यसोभए तपाईंको आवाजबाट तपाईं धेरैभन्दा धेरै निराश हुनुहुन्छ जस्तो छ । आज तपाईंका लागि निकै निराशाजनक दिन देखिन्छ ।
सजीव वाजेद : पक्कै पनि हो । अवश्य पनि यो किनभने मैले आफैंले बंगलादेशलाई आधुनिकीकरण गर्न, डिजिटलाइज गर्न र २१ औं शताब्दीमा ल्याउन मद्दत गरेको छु । मैले बंगलादेश सरकारबाट कुनै पारिश्रमिक नलिई आफैंले धेरै मेहनत गरेको छु । मैले मानार्थ सल्लाहकारको रूपमा काम गरेँ । मैले बंगलादेश सरकारबाट एक पैसा पनि लिएको छैन । र, मैले यो पूरा गरेँ । मैले डिजिटल बंगलादेश बनाएँ, मेरी आमाले देशलाई गरिब देशबाट मध्यम आय भएको देशमा परिणत गर्नुभयो । र, इतिहासका पुस्तकहरूमा शेख हसिनाको कार्यकाललाई बंगलादेशको स्वर्ण युगका रूपमा सधैं स्मरण गरिनेछ किनभने यो त्यसरी नै प्राप्त भइरहेको थियाे र यसपछि सबै ओरालो लाग्नेछ ।

सिद्धान्त सिबल : अन्तर्राष्ट्रिय समुदायलाई केही सन्देश छ ?
सजीव वाजेद : छैन, किनभने अन्तर्राष्ट्रिय समुदाय मेरी आमालाई यस्तोउस्तो भन्दै आलोचना गर्न व्यस्त थियो । त्यसैले अब मजा लिनुहोस्, हेर्नुहोस् । अल्पसंख्यक मारिएको हेर्नुहोस् । तपाईंहरूले चाहेको यही हो । तपाईंहरूले शेख हसिनालाई राम्रो गर्न चाहनुभएन । शेख हसिनाबिना बंगलादेशमा यस्तो हुन्छ ।

सिद्धान्त सिबल : तपाईंलाई बंगलादेशमा अन्तरिम सरकारले कुनै परिवर्तन ल्याउँछ भन्ने विश्वास छ ?
सजीव वाजेद : त्यो त हेर्न बाँकी छ, तर मलाई शंका छ । मेरो मतलब तपाईं आज यसलाई हेर्नुहुन्छ । अहिले पनि देशभर हिंसा भइरहेको छ । के गर्दैछ अन्तरिम सरकार र सेना ? केही छैन, उनीहरूसँग कुनै शक्ति छैन ।

सिद्धान्त सिबल : त्यसो हो भने तपाईंले आफ्नी आमा शेख हसिनासँग कुरा गरिसक्नुभएको छ जो भारतमा हुनुहुन्छ, उहाँको आगामी योजना के छ ? के उहाँ पनि लण्डन जाने योजनामा हुनुहुन्छ ?
सजीव वाजेद : होइन, उहाँको कतै जाने योजना छैन । रिटायर लिएपछि उहाँले कुनै निर्णय गर्नुभएको छैन । उहाँ आफ्नो बाँकी समय आफ्ना नातीनातिनाहरूसँग खेलेर बिताउनुहुनेछ ।

सिद्धान्त सिबल : भारत वा अन्य कुनै तेस्रो देशमा ?
सजीव वाजेद : मेरो सम्पूर्ण परिवार, हामी दशकौंदेखि बंगलादेशबाहिर बस्दै आएका छौं । हामी राम्ररी व्यवस्थित छौं । त्यसैले सायद उहाँ मेरो घर आउनुहुनेछ । मेरी छोरीसँग समय बिताउनुहुनेछ, मेरी दिदीको घर जानुहुनेछ र उहाँका बच्चासँग समय बिताउनुहुनेछ, मेरी काकीकहाँ जानुहुनेछ र नातीनातिनासँग समय बिताउनुहुनेछ । उहाँले गर्ने यिनै हुन् । उहाँ अब असल हजुरआमा बन्नुहुनेछ ।

सिद्धान्त सिब्बल : त्यसोभए मेरो अन्तिम प्रश्न, बंगलादेशका जनतालाई कुनै सन्देश छ ?
सजीव वाजेद : छ, शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *