विदेशमा बसेर साइबर अपराधमा संलग्न एक जना पक्राउ

विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

थापाले पीडितको फेसबुक ह्याक गरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमान्बीच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाई ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनले बताए ।

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्यूरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्यूरोको टोलीले पक्राउगरी आज सार्वजनिक गरेको हो । उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्युरोले आज जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर