प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छाडेकी शेख हसिना भारतमा
आरक्षणको विरोधमा हिंस्रक प्रदर्शन चर्किएपछि पदबाट राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् ।
भारतीय सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै हसिना चढेको जहाज सोमबार साँझ भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण गरेको जनाएका छन् ।
सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् ।
उनी सेनाको सी-१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत पुगेकी हुन् ।
बंगलादेशको सेनाको जहाज पटना हुँदै नयाँ दिल्ली नजिकै रहेको भारतीय वायु सेनाको अड्डामा अवतरण गरेको हो । त्यहाँ हसिनालाई भारतीय एयर अफिसर कमाण्डिङ सन्जय चोपडाले स्वागत गरेका थिए ।
हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।
सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास प्रवेश गरी त्यहाँका सामान लिएर हिँडेका थिए ।
प्रतिक्रिया