प्रहरीले सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडितलक्षित काम गर्नुपर्छ : आईजीपी

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडितलक्षित भई सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुलगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन-सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्धार कार्यमा प्रभावकारी ढंगले प्रहरी खटिरहेको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिक समाजसँग समन्वय गरेर प्रभावकारी ढंगले परिचालन हुन र मातहतलाई परिचालन गराउन सक्रियता बढाउनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोग नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, बैंकिङ कसुरलगायतका आर्थिक अपराधहरूको नियन्त्रण गर्न उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सकारात्मक नतिजा आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

अपराध अनुसन्धानका क्रममा घटनाको गहनता बुझेर प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयहरूका काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू आफू रूपान्तरण भई सकारात्मक उत्प्रेरणा तथा थप व्यावसायिक क्षमतामा वृद्धि गरी नागरिकमैत्री सेवा प्रवाहमा एकताबद्ध भई खटिनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थितिका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू, विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *