बंगलादेशमा बाँकी विद्यार्थीको सुरक्षा गर्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।

मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् ।

त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेका भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूकोसम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।

ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।

सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीरू सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *