बंगलादेश अन्दोलनको प्रभाव : नेपालबाट निर्यात सामग्री बाेकेका कन्टेनर नाकामै रोकिए

बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल-बङ्गलादेश व्यापारमा समेत परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी-बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । ‘बङ्गलादेशमा फेरि आन्दोलनले उग्र रूप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन,’ उनले भने ।

पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/०८२ मा ११ दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ रूपैयाँ मूल्य बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रूपैयाँको आयात भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार दाल, जडिबुटी, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्लादेश निर्यात हुन्छ । यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किँदै गएपछि बङ्गलादेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *