गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा विदेशी पर्यटकको आवागमन सहज

गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ ।

गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए । कोरोना महामारीको कहरपछि भारतसँग जाेडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो ।

मन्त्री लेखक र राजदूत श्रीवास्तबीच भएको सो छलफलपछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले जानकारी दिए ।

‘साउन १५ गतेयता हालसम्म सात विदेशी पर्यटक यो नाका भएर भारत प्रस्थान गरेका छन्,’ उनले भने ।

कोरोना महामारीका बेला सन् २०२१ डिसेम्बर १० तारिखदेखि भारतले नेपलको गड्डाचौकी नाका भएर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । विदेशी पर्यटकलाई गड्डाचौकी नाका हुँदै निर्वाध रूपमा भारत जान दिन तीन वर्षदेखि कञ्चनपुरका सरोकारवाला निकाय र नीजि क्षेत्रले पटकपटक सरकारसँग माग गर्दै आएका थिए ।

‘पर्यटकलाई भारत जान अब सहज गरिएको छ,’ प्रमुख भट्टले भने ।

उनका अनुसार गड्डाचौकी नाका हुँदै वार्षिक झण्डै तीन हजारको हाराहारीमा विदेशी पर्यटक आवतजावत गर्ने गर्छन् । कोरोना महामारीपछि भारतीय पक्षले बाह्य पर्यटकलाई आफ्नो देशमा आवतजावत गर्न नदिँदा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर