सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्छ : माओवादी सांसद सापकोटा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गरे । उनले सो घटना छानबिनका लागि सरकारलाई रूलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।

सभापति पोखरेल अघिल्लो सार्वजनिक लेखा समितिले सो बक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशनविपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने सांसद सापकोटाले बताए ।

‘अघिल्लो संसदको सार्वजनिक लेखा समितिले एउटा उपसमिति गठन गरेर डेडिकेटेड फिडर र ट्रंकलाइनका बारेमा छानबिन गर्ने समिति बनाएको थियो । यसले ८ महिना लगाएर एउटा प्रतिवेदन समितिलाई दिएको थियो । यो प्रतिवेदन हामीले सहजै हेर्न सक्छौं,’ सांसद सापकोटाले भने, ‘सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस् । र, अहिलेको सार्वजनिक लेखा समितिका सभापति जे रहस्यमय घटनाक्रम अगाडि बढाइराख्नुभएको छ, यसका लागि म सम्माननीय सभामुखमार्फत रूलिङ चाहन्छु । र, यसको लागि सिंगो संसदको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।

सांसद सापकोटाले सरकारले विद्यमान नियमविपरीत प्राधिकरणका बोर्ड सदस्यहरूलाई बर्खास्त गरेको दाबीसमेत गरे ।

‘सरकार नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्यको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुई जनालाई नियम उलंघन गरेर सरकारले बर्खास्ती गरेको छ,’ उनले भने, ‘म यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु, भत्सर्ना गर्न चाहन्छु । र, सरकार यो देशमा अटाेक्रेसी चलाउन खोजिराखेको छ भन्ने आशंका व्यक्त गर्न चाहन्छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर