फास्ट ट्र्याकको धेद्रे सुरूङ ‘ब्रेक थ्रु’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा-धेद्रे सुरूङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका-१२, धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ-निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरूङ ब्रेक थ्रु गरेका हुन् । निजगढ-कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्रे सुरूङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरूङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरूङ खोल्ने काम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए ।

लेनडाँडामा रहेको निजगढ-काठमाडौँतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौँ-निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरूङ यसअघि नै खनिसकिएको छ । तीन दशमलव तीन सय २२ किमीको निजगढ-काठमाडौँतर्फको महादेवटार सुरूङ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौँ-निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी सुरूङ खनिसकिएको छ । सो सुरूङ यसै वर्ष सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा रहेका छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।

प्रस्थानबिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल नौ सय ७७ किलोमिटर छ । द्रुतमार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रुतमार्गमा १० दशमवल तीन सय नौ ९ किमी लम्बाइका ६ वटा सुरूङ बन्नेछन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव तीन सय ५५ किमी, धेद्रेमा एक दशमलव ६ सय ९१ र लेनडाँडामा एक दशमलव ६ सय २३ किमी लामो सुरूङ निर्माण हुनेछ ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछन् ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गरेका थिए । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।

सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर