निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुधारको प्रयासमा अर्थमन्त्री

पाँचौं पटक मुलुकको अर्थतन्त्रको ढुकुटीको साँचो हातमा लिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारमा निजी क्षेत्रको सहयोग खोजेका छन् ।

मुलुकका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरणपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा २०८१ असार ३१ गते उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पौडेलले पाए । अर्थ मन्त्रालयको कार्यभार सम्हालेसँगै नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन गर्नुपर्ने चुनौती उनीमाथि छ । नयाँ सत्ता समीकरण बनेसँगै अर्थमन्त्रीमा पौडेलको चर्चाले दुई वर्ष सुस्त रहेको अर्थतन्त्रको ऐनको रूपमा हेरिएको पुँजीबजार एक्कासी माथि आयो ।

राजनीतिक अस्थिरता र नीतिगत असहजताका कारण मुलुकको अर्थतन्त्र संकटमा छ । सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै गएको छ र व्यावसायिक वातावरण बिग्रँदै गएको छ । अर्थमन्त्री पौडेललाई बिग्रेको अर्थतन्त्र, व्यावसायिक वातावरण र खस्केको निजी क्षेत्रको मनोबल उकास्न चुनौती छ । मुलुकमा व्यावसायिक वातावरण बिग्रँदा माग र आपूर्तिमा समेत असन्तुलन देखिएको छ । आम नागरिकमा चरम निराशा छाएको छ ।

अर्थमन्त्री पौडेललाई बिग्रेको अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान दिने निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने चुनौती छ । चुनौतीहरूका बीचमा मुलुकको ढुकुटीको साँचो हातमा लिएका अर्थमन्त्री पौडेलेले निजी क्षेत्रको भरोसा खोजेका छन् । निजी क्षेत्रको मनोबल घटेपछि अर्थतन्त्र चलायमान हुन सकेको छैन । निजी क्षेत्रको मनोबल बढ्न नसकेपछि निजी क्षेत्र लगानी गर्न हच्किँदा नयाँ रोजगारी सिर्जनासमेत हुन सकेको छैन ।

अर्थमन्त्री पौडेललाई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने र अर्थतन्त्रका संरचनागत सुधार गर्ने दुईवटा चुनौती मुख्य छन् । त्यस्तै निर्माण व्यवसायीको भुक्तानी समस्या, लघुवित्त र सहकारी समस्या समाधान गर्नु पनि चुनौतीका रूपमा छन् ।
विभिन्न चुनौतीका बीच मौद्रिक नीति सरकारको वित्त नीतिअनुरूप ल्याउन सफल भएका छन् । वित्त नीतिको परिपूरकका रूपमा मौद्रिक नीति आउँदा सरकारले अर्थतन्त्रमा सुधार गर्ने भरोसामा निजी क्षेत्र परेको छ । सरकारले निजी क्षेत्रका माग सम्बोधन गर्ने गरी लचिलो मौद्रिक नीति ल्याएर सकारात्मक सन्देश दिन खोजेको देखिन्छ । राष्ट्र बैंक स्वायत्त संस्था भन्ने तर मौद्रिक नीति सरकारको कन्ट्रोलमा राख्ने प्रवृत्ति भने रोकिएन ।

ओली सरकारलाई गोलचक्रमा रहेको अर्थतन्त्र लयमा ल्याएर निजी क्षेत्रको आत्मबल बढाउनु मुख्य चुनौती भएको अवस्थामा मौद्रिक नीतिले साथ दिएको छ । यता अर्थमन्त्री पौडेलले मन्त्रालयको जिम्मेवारी लिएसँगै अर्थतन्त्र सुधार गरी व्यावसायिक वातावरण बनाउने अठोट गरेका थिए ।

निजी क्षेत्रले विश्वास गरेका अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरूकै साथ लिएर अर्थतन्त्र सकारात्मक अवस्थामा छ भन्ने सन्देश प्रवाह गर्न कोसिस गरिरहेका छन् । अर्थमन्त्री भएपश्चात् अर्थ मन्त्रालयमा विभिन्न माग राख्दै जाने सम्पूर्ण निजी क्षेत्रका छाता संगठनहरूलाई उनले एउटै आश्वासन दिएका थिए । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको आत्मबल जगाउनुलाई पहिलो प्राथमिकता राख्नुपर्ने छ ।

अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालगायतका संस्थाहरूलाई एउटै आश्वासन र आशा जगाउने वचन दिएका छन् । उनले सरकार निजी क्षेत्रको अभिभावक भएकाले सबैका समस्या सम्बोधन गर्ने धारणा राखेका छन् ।

अर्थमन्त्री पौडेलले सबै निजी क्षेत्रका छाता संगठनसँग मुलुकको अर्थतन्त्र सुधार हुने र सरकारले सुधार गरी लगानीको वातावरण सिर्जना गर्ने भन्दै सकारात्मक हुन आग्रह गरेका छन् । पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्यामा आगो बाल्न नभई आगो निभाउन बनेको भन्दै निजी क्षेत्रलाई विश्वासमा लिने कोसिस गरे । उनले सरकारको नीति नै निराशा चिर्दै भरोसा जगाउने भएको भन्दै ढुक्क भएर काम गर्न उत्प्रेरित गरेका छन् ।

निजी क्षेत्रमा आशाको दियो बाल्ने अर्थमन्त्रीको अठोट
उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउँदै निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी लिएको बताउँदै आएका छन् । पौडेलले अर्थतन्त्रमा देखिएको सुस्तता, सरकारप्रति टुटेको मनोबललाई उकास्दै सबैको निराशा चिरेर भरोसा जगाउन निजी क्षेत्रको साथ र सहयोगको आवश्यकता औंल्याए ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका करिब ८ भन्दा बढी छाता संगठनहरूसँगको भेटमा एककै बोली बोलेर निजी क्षेत्रलाई सरकारप्रति आशावादी हुन आग्रह गरे । पौडेलले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आम मानिसहरूमा सकारात्मक सन्देश दिने प्रयास गरे ।

निजी क्षेत्रलाई विश्वासमा लिन सिपालु अर्थमन्त्री यो पटक पनि निजी क्षेत्रको विश्वास लिन सफल भएको देखिन्छ । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल कमजोर हुन दिनका लागि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका मागलाई सम्बोधन गरी पहिलो आशा जगाउन सफल भएको देखिन्छ । उनले अर्थमन्त्री भएर पहिलो पटक बैंकका सीईओहरूको संस्था नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँग जनाएको प्रतिबद्धता मौद्रिक नीतिपछि भेट्न गएका स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई दोहोर्‍याए । एकसूत्रीय वचन दिएर अर्थमन्त्रीले पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास गरे । उनले दुई ठूला राजनीतिक दलहरूबीचको समीकरण नै स्थायी सरकार बनाउनु भएको उल्लेख गरे । उनले सबै व्यवसायीहरूलाई सरकारप्रति भरोसा गर्न आग्रह गरे ।

निजी क्षेत्रका ६ संस्थाहरूसँग अर्थमन्त्रीको एउटै आग्रह : आशावादी भइदिनुस्
अर्थमन्त्री पौडेलले बैंकका सीईओहरूलाई बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार रहेको भन्दै बजारमा सरकारप्रतिको सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे । उनले सरकार सबैको अभिभावक भएकाले अभिभावकको भूमिका निभाउने आश्वासन दिए । उनले यो नै स्थिर सरकार भएकाले सरकारप्रति आशावादी हुन आग्रह गर्दै यो सरकारले समस्याको निकास दिन्छ भन्ने सन्देश सम्प्रेषण गरी सरकारलाई साथ दिन आग्रह गरे ।

‘सरकार बैंक तथा वित्तीय संस्थाहरूको पनि अभिभावक हो । त्यो अभिभावकत्व ग्रहण गर्छु । सरकारले पनि गर्छ । तपाईंहरू अर्थ मन्त्रालय र नेपाल सरकार अभिभावक बन्छ भनेर जानुस् । तपाईंहरूका समस्या समाधान गर्न सँगै बसेर छलफल गर्न तयार छु,’ अर्थमन्त्री पौडेलले भने, ‘व्यवसायीहरूले प्रस्तावहरू राख्ने म हेरौंला भन्ने कुरा गर्दिनँ र विश्वास छैन । तपाईंहरूका समस्यामा दुवै पक्ष बसेर छलफल गर्न तयार छु । आफूले गर्न सक्ने निर्णय आफैं गरौंला, गर्न नसक्ने सम्बन्धित निकायसँग समन्वय गरौंला । तर तपाईंहरूले यतिबेला सकारात्मक सन्देश सम्प्रेषण गरिदिनुहोला ।’

अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघसँग दोस्रो भेट गर्दै बैंकर्स संघलाई जस्तै वर्तमान सरकारप्रति आशावादी हुन आग्रह गरे । उनले सरकारप्रति निजी क्षेत्रले गरेको भरोसा र विश्वास टुट्न नदिने प्रतिबद्धता जनाए । अर्थमन्त्री पौडेलले महासंघलाई सरकारले निजी क्षेत्रका समस्या सुनेर समाधान दिन्छ भन्ने विश्वासको साथमा आफ्ना पेसा व्यवसायमा लाग्न आग्रह गरे । उनले सरकारले टुटेको मनोबललाई उठाउने काममा निजी क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गरे ।

‘पेसा व्यवसायको माध्यमबाट राज्यलाई योगदान दिनु्स् । निजी क्षेत्रमा रहेका समस्या बोकेर हिँडिराख्नुपर्ने अवस्थाको अन्त्य गर्दै महासंघले राखेका मागलाई सरकारले सुनुवाइ गर्छ,’ मन्त्री पौडेलले भने, ‘लगानी, उत्पादन, रोजगारी सिर्जनाका लागि सरकारले काम गर्छ । मुख्य रूपले टुटेको मनोबललाई उठाउने काममा विशेष पहलकदमी रहोस् । सरकार निजी क्षेत्रसँगै हुनेछ ।’

अर्थमन्त्री पौडेलले नेपाल उद्योग परिसंघसँगको भेटमा पनि सरकारप्रति विश्वास जागृत नभए आत्मबल नबढ्ने भन्दै सरकारप्रति विश्वास गर्न आग्रह गरे । उनले निराशा चिर्ने र आशा जगाउने सरकारको मुख्य नीति रहेको उल्लेख गरे । उनले निजी क्षेत्रको मनमा आशाको दियो बाल्ने अठोटका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

‘जबसम्म सरकारप्रति विश्वास जागृत गर्दैनौं र आत्मबल बढाउँदैनौं, देश अगाडि बढ्न सक्दैन । त्यसकारण मैले सबैभन्दा बढी के जोड दिएको छु भने अहिलेको समस्या भनेको निराशा चिर्ने र आशा जगाउने हो,’ उनले भने, ‘के गर्दा हुन्छ ? तेल हाल्दा हुन्छ कि घ्यू हालेर हुन्छ ? दियो वा र्टच बालेर भए पनि निराशा चिर्दै आशा जगाउनुपर्‍याे । निजी क्षेत्रको मनोबल टुट्यो भने समग्र अर्थतन्त्र बिग्रन्छ । मेरो अपेक्षा निजी क्षेत्रको मनमा आशाको दियो बाल्न सकौं भन्ने हो ।’

नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा पनि वर्तमान सरकार व्यवसायीहरूका समस्यामा आगो बाल्न नभई निभाउन आएको उल्लेख गरेर व्यवसायीलाई आशावादी बनाउने काम उनले गरे । उनले निर्माण व्यवसायीहरूले पनि सरकारप्रति आशा, विश्वास र भरोसा गर्न जरूरी रहेको उल्लेख गरे ।

‘तपाईंहरूलाई म के विश्वास दिलाउन चाहन्छु भने निर्माण व्यवसायीहरू सरकारप्रति आशा, विश्वास र भरोसा गरेर फर्कनुस् । निर्माण व्यवसायीहरूलाई काम गर्ने परिस्थिति सरकारले निर्माण गर्छ,’ उनले भने, ‘समग्रमा भन्दा काम गर्ने परिस्थिति सरकारले बनाउँछ । निर्माण व्यवसायीहरूसँग तीनवटा मात्रै अपेक्षा छ, जुन समयमा निर्माण सम्पन्न होस्, गुणस्तरीय र प्रक्षेपित लागतका आयोजनाहरू सम्पन्न हून् , यीभन्दा बढी सरकारको कुनै अपेक्षा छैन ।’

अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्ससँगको भेटमा पनि अन्य संस्थाहरूलाई भनेजस्तै सरकारप्रति आशावादी हुन आग्रह गरे । उनले निजी क्षेत्रलाई सरकारले निराशामा नपार्ने र दुःख नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले स्थायित्व र राजनीतिक स्थिरताका निम्ति वर्तमान संसदमा बन्ने सरकार यही मात्रै भएको दाबी गरे ।

‘सरकारप्रति जुन खालको आशा गर्नुभएको छ, स्वभावैले निजी क्षेत्रको आशा अपेक्षालाई सम्बोधन गर्ने गरी, निजी क्षेत्रलाई निराश हुन नदिने गरी सरकारले पहलकदमी लिन्छ । अहिलेको सरकार समस्याको आगो ताप्नका निम्ति बनेको सरकार होइन, यो सरकार समस्याको आगो निभाउन र समस्या समाधानको निम्ति बनेको सरकार हो,’ उनले भने, ‘राजनीतिक अस्थिरताको कारण अर्थतन्त्रमा समस्याहरू आएका हुन् । अहिलेको संसदमा स्थायित्व र राजनीतिक स्थिरताका निम्ति बन्ने सरकार यही नै हो । योभन्दा स्थायित्व र स्थिरता दिन सक्ने अर्को सरकार बन्दैन ।’

अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई लयमा ल्याउने राम्रो सूत्र अपनाएको देखिन्छ । विगतमा जस्तै अहिले पनि निजी क्षेत्रको विश्वास लिने कोसिसमा उनी देखिन्छन् । मौद्रिक नीतिमार्फत व्यवसायीहरूका समस्या समाधान गर्ने कोसिस गरेका अर्थमन्त्री पौडेल अर्थतन्त्रका चुनौती निजी क्षेत्रलाई साथमा लिएर समाधान गर्ने रणनीतिमा रहेको देखिन्छ । निजी क्षेत्रले कतिसम्म साथ दिन्छ त्यो भने हेर्न बाँकी नै छ । अर्थतन्त्रको ऐना मानिएको पुँजीबजारको भविष्य अर्थमन्त्रीको काँधमा छ । अर्थमन्त्री हुने चर्चासँगै बुम भएको पुँजीबजार करिब दुई हप्तामा ८ सय अंकले बढेको छ ।

अर्थमन्त्रीसँग पुँजीबजारलगायत अन्य निजी क्षेत्र सकारात्मक छन् । निजी क्षेत्रले वर्तमान सरकार बनेसँगै अर्थतन्त्रमा सुधार हुने धारणा राख्दै आएका छन् । तर, अर्थमन्त्री पौडेलले निश्चित व्यापारिक घराना हेरेर होइन समग्र निजी क्षेत्रलाई नै प्रतिस्पर्धी बनाउने नीति ल्याएर आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने वर्तमान आवश्यकता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *