बंगलादेशमा सरकारविरोधी प्रदर्शनकारी र सरकार समर्थकबीचको झडपमा ५० जनाको मृत्यु

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू र सरकार समर्थकहरूबीच झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्‍यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् ।

एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियोअनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बङ्गलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए ।

निजामती सेवामा आरक्षण प्रणालीविरूद्धका र्‍यालीहरूले जुलाइमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनर्स्थापित गरेको भए पनि सरकारलाई कमजोर बनाउने उद्देश्यले गरिएको असहयोग आन्दोलनअन्तर्गत यस महिना ठूलो सङ्ख्यामा भीड सडकमा फर्किएको छ ।

प्रहरी निरीक्षक अल हेलालले एएफपीलाई भने, ‘विद्यार्थी र सत्तारूढ दलका मानिसहरूबीच झडप भएको थियो । यसमा ढाकाको मुन्शीगञ्ज जिल्लामा दुई युवकको मृत्यु भएको छ । मृतकमध्ये एउटाको टाउकोमा चोट लागेको र अर्कोलाई बन्दुकको गोली लागेको थियो ।’

प्रहरी र चिकित्सकहरूले पनि ढाकाका अन्य ठाउँमा उत्तरी जिल्ला बोगरा, पबना, रङ्गपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिशाल र फेनीमा पनि मृत्यु भएको रिपोर्ट गरेका छन् ।

यहाँका केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सामेल भएका छन् र पूर्वसेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको आफ्नो फेसबुक प्रोफाइल रातो बनाएका छन् ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।

जनआन्दोलनमा फिल्म स्टार, सङ्गीतकार र गायकहरूसहित बङ्गलादेशी समाजका सबै तहका नागरिक सहभागी भएका छन् । जनताको समर्थनको आह्वान गर्ने र्‍याप गीतहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *