खेलाडीहरुको गुनासो- ‘बिस्तारै खेलकुद प्रशिक्षकविहीन हुँदैछ’

नेपाली खेलाडीले बागमति प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई खेलजीवनपश्चात पनि खेलाडीको भविष्य सुरक्षित हुने तवरबाट काम गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मन्त्री महर्जनलाई बधाई दिने तथा अन्तरक्रिया कार्यक्रममा खेल लिजेण्ड एवं वर्तमान समयमा विभिन्न खेलबाट योगदान दिँदै आएका खेलाडीले उक्त सुझाव दिएका हुन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी र कीर्तिमानी वैकुण्ठ मानन्धरलाई सँगै राखेर मन्त्री महर्जनले खेलकर्मीबाट सुझाव संकलन गरेका थिए ।

तेक्वान्दोका ओलम्पियन दीपक बिष्ट, १३ औं सागमा दोहोरो स्वर्ण विजेता कराते मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयसा शाक्य, फुटबलका उपेन्द्रमान सिंह, एशियाली खेलकुदमा काँस्य विजेता दीपक महर्जन र विभिन्न समयका चर्चित खेलाडी तथा ओलम्पियन मन्त्री महर्जन आपैmँ पनि खेलाडी रहेकाले खेलकर्मीले धेरै आशा गरेको धारणा राखेका थिए । खेलकुदमन्त्री महर्जन करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्षसमेत थिए ।

अन्तरक्रिया कार्यक्रममा अधिकांश खेलाडीले खेलाडीको दुःख अर्को खेलाडीले मात्र बुझ्नसक्ने भन्दै मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलकुदमा हित हुने काम गर्ने आशा राखेका छन् । अहिले अधिकांश प्रशिक्षकको कार्यकाल सकिँदा खेलकुद क्षेत्र बिस्तारै प्रशिक्षकविहीन भइरहेकोप्रति पनि खेलाडीले खेलकुदमन्त्री महर्जनको ध्यानकर्षण गराएका छन् । त्यसैले खेलकुदमा आवश्यक प्रशिक्षक नियुक्तका लागि पहल गर्न खेलाडीले सुझाएका छन् ।

१२ औं सागमा उसुका लागि स्वर्ण पदक दिलाएकी निमा घर्तीमगरले विभागीय खेलाडीलाई जस्तै प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीका लागि पनि वागमतिको प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । जतिसक्दो धेरै खेलाडीले एक्सपोजर पाए मात्र प्रदर्शनमा स्तरोन्नती हुने उनको भनाइ छ ।

साथै नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई दिने भनिएको पुरस्कार पनि अहिलेसम्म नपाएको केही खेलाडीले गुनासो गरेका छन् । मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलाडी र प्रशिक्षकको सल्लाह र सुझावअनुसार नै काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै मन्त्री महर्जनले अबको आफ्नो पहिलो प्राथमिकता नै खेलाडीले पाउनुपर्ने सेवासुविधा र पुरस्कार बारे प्रक्रिया अगाडि बढाउनु रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *