अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा छौं : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।

आइतबार लेखा परीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन । उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे । उनले  सात दशक लामो सङ्घर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताए ।

उनले मुलुक आर्थिक रुपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरू जनताले उपभोग गर्न नपाउने बताए । उनले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखा परेको बताए । अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रियाकलापहरूलाई बिस्तार गर्ने बताए ।

अर्थमन्त्री पौडेलले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे । उनले आर्थिक क्रियाकलापमा हुने आर्थिक अपारदर्शिता नहुने गरी भुमिका खेल्ने अपेक्षा लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *