बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ

बिमा रकम दाबी गर्न पोखराको लेकसाइडमा रहेको आफ्नै पसल (सपिङ सेन्टर) मा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा–६ नारेश्वरचोकमा साउन १६ को बिहान आफ्नै पसलमा आगजनी गर्ने ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र उनका साथी बिरौटाका ४३ वर्षीय पवन नेपाल शनिबार पक्राउ परेका हुन् । स्थानीय थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले मुक्तिनाथ सपिङ सेन्टर चलाएका थिए । साउन १६ को बिहान २ बजेतिर पसलमा आगलागी भएको प्रहरीले खबर पायो । प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा महानगरपालिकाको दमकल र स्थानीयको प्रयासमा ३ बजेतिर आगो नियन्त्रणमा आयो ।

सुजनले आफूले केही दिनअघि नयाँ इन्भर्टर जडान गरेको र उक्त इन्भर्टरको वायरिङबाट सर्ट भई आगो लागेको प्रहरीलाई बताए । उनले पसलको बिमा नगराएको समेत प्रहरीलाई बताएका थिए । प्रहरीले अनुसन्धानका क्रममा इन्भर्टर जडान गर्ने व्यक्तिसँग बुझ्दा इन्भर्टरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने जानकारी पायो । विद्युत् प्राधिकरणले पनि आफ्नो तर्फबाट कुनै कैफियत नरहेको जवाफ दियो ।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानको सुइ सुजनतिरै सोझायो । उनले गत असार १५ मा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको न्युरोड कार्यालयबाट पसलको बिमा गरेको र आगलागी भएको भोलिपल्ट साउन १७ मा बिमा दाबी गर्दै निवेदन दिएको तथ्य प्रहरीले फेला पार्‍यो । त्यसै दिन उनले आफ्नो पसलमा के कसरी आगो लागेको भनी थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा निवेदन बुझाएका थिए । अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा सुजनले २ करोड १० लाख बराबरको बिमा गरेको फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

उनका अनुसार सुजनले आफ्नो पसल नचलेको, सामान धेरै स्टक रहेको र घरबेटीसँग भाडाका विषयमा विवाद भइरहेको कुरा पवनलाई सुनाउँछन् । पवनले पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट आफूले सञ्चालन गरेको सफल पोल्ट्री फार्ममा आगो लाग्दा बिमा कम्पनीबाट ३१ लाख रुपैयाँ पाएको सुजनलाई सुनाउँछन् । उनको कुराबाट सुजन प्रभावित हुन्छन् र आफ्नो पसलमा जानाजान आगजनी गर्ने योजना बुन्छन् ।

सुजन र पवनले पानी परेको दिन सबै सुत्ने र मानिसको चहलपहल नहुने भएकाले त्यही बेला पसलमा आगो लगाउने योजना बनाउँछन् । योजना मुताबिक साउन १५ को राति सुजनले आफ्नो गाडीमा स्प्रिट राख्छन् । राति ११ बजे पवनसँग भेट हुन्छ । खानपिन गरेपछि उनीहरु गाडी लिएर पसलमा पुग्छन् । दुवै जना १०/१५ मिनेट पसलको भित्रबाहिर गर्छन् ।

प्रहरीले प्राप्त गरेको सीसीटीभी दृश्यमा सुजनले सटर लगाएर हतारहतार त्यहाँबाट निस्किएर गाडी चढेको देखिन्छ । गाडी हिँड्न सुरु भएपछि पवनले सलाइ बालेर एक्कासि आगो सल्काउँछन् । उनी गाडीको पछिपछि गएर चढ्छन् र त्यहाँबाट निस्कन्छन् । प्रहरीसँगको बयानमा सुजनले बिमा रकम दाबी गर्न पवनसँग मिलेर योजना बनाइ आफ्नै पसलमा आगजनी गरेको बताएका छन् । दुवैलाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *