राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको उपस्थितिमा देखाइयो भोटोजात्रा 

परम्परागत रूपमा मनाइँदै आएको भोटोजात्रा देखाइएकाे छ । जात्राकाे राष्ट्रपति रामचन्द्र पौडेलले अवलाेकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन् ।
राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरे । उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।
हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।
भोटेजात्राका अवलोकन गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।
गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरू भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरू भएको विश्वास गरिन्छ ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा रहेको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।
सबै तस्बिरहरू : प्रदीपराज वन्त । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *