संविधान संशोधनविरूद्ध भ्रम फैलाउन खाेज्ने तत्त्वहरू सक्रिय छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरूद्ध भ्रम फैलाउनेहरू सक्रिय रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि कांग्रेस-एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो टिप्पणी आएको हो ।

उनले आफूहरूले स्टन्टबाजीको रूपमा कुनै काम नगर्ने पनि बताए । आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारूढ गठबन्धनले कुनै पनि खालको भ्रम सिर्जना गर्ने गरी काम नगर्ने बताए ।

संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरानजस्तो असंशोधनीय दस्तावेजका रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि उनले सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस-एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे ।

‘कतिपयले अहिले पनि हाम्रो विरूद्ध भ्रम फिँजाउने कोसिस गरिरहेका छन् । हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौं । यो धार्मिक ग्रन्थजस्तो वेद हो कि, बाइबल हो कि, कुरान हो कि जस्तो असंशोधनीय, विश्वास मात्रै गर्नपर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिस्कृत हुँदै जाने र परिमार्जन हुँदै जाने दस्तावेज हो भन्ने कुरा अझै त्यसमा पनि भ्रम फिँजाएर हिँडन खोज्ने तत्त्वहरू सक्रिय छन् ।’

नेकपा (एमाले) र नेपाली कांग्रेसको समीकरणले भनेको संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यावहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता यी सबै पक्षहरूलाई अभिवृद्धि गर्ने कुुराका लागि भएको उनले बताए ।

उनले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने लक्ष्यअनुरूप नै संविधान संशोधन गर्ने कुरा अघि बढाइएको बताए ।

प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्यअनुसार सरकार अघि बढिरहेको दाबी पनि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *