यी विषयमा हुँदैछ सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन

प्रहरी महानिरीक्षक मातहतको ठूला अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

एआईजी ज्ञवालीविरूद्ध एलओडी डिस्कोको नाबालिका करणी, बालमन्दिरको जग्गा घोटाला, सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणलगायतमा प्रतिवादीसँग अस्वाभाविक हिमचिम र आर्थिक लेनदेनसमेत गरेको आरोपमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

ज्ञवालीकै ब्याचमेन्ट एआईजी टेकप्रसाद राई संयोजकत्वको समितिले उनीमाथि छानबिन गरिरहेको छ ।

एआईजी राई संयोजकत्वको समितिमा प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन राई, उजुरी छानबिनका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्ल, कानुन हेर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) रूकबहादुर खड्का र इन्जिनियर डीएसपी मुकेश तिवारी सदस्य छन् ।

समितिमा इन्जिनियर प्रहरी राख्नुले एआईजी ज्ञवालीको सम्पत्ति पनि छानबिन हुन सक्ने संकेत गर्दछ । उनी सीआईबी प्रमुख भएपछि बढोत्तरी भएको जिन्सी र नगद मूल्याकंन हुन सक्ने सम्भावना छ ।

एआईजी ज्ञवालीमाथि पदीय मर्यादाको दुरूपयोग गरेको र चेन अफ कमाण्ड तोडेको आरोप छ ।

प्रहरी सेवाको उत्तर्राद्धमा एआईजी ज्ञवालीमाथि छानबिन भइरहेको हो । छानबिनमा उनीविरूद्धका आरोप सही साबित भए उनको प्रहरी जीवनको दुःखद् अन्त्य हुनेछ । एआईजी ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकाशमा जानेछन् ।

यसअघि आईजीपीका दाबेदारसमेत रहिसकेका ज्ञवाली उमेद विवादमा परेपछि उनकै ब्याचमेन्ट वसन्तबहादुर कुँवर अहिले आईजीपी छन् ।

ज्ञवाली गत वर्ष चैत २ मा सीआईबीको प्रमुख बनेका थिए । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा बदनियत राखेको भन्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको ठाउँमा ज्ञवालीलाई ल्याएका थिए । एआईजी बज्राचार्यलाई कार्य विभाग सरूवा गरिएको थियो ।

तर, ज्ञवालीले झनै अनुसन्धान दबाएको र तस्करीका आरोपीसँग उनको सम्पर्क रहेको आरोपसमेत छ । सुन तस्करीका फरार अभियुक्त जीवन चलाउनेसँग उनको सम्पर्क देखिएको प्रहरी उच्च अधिकारी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *