द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-२८

वृद्ध महाराजामा अचानक यौनेच्छा

सत्यवतीलाई यदि महाभारतको कथा या इतिहासबाट पन्छाउने हो भने सम्पूर्ण महाभारत ग्रन्थ निरस हुनेछ। महाभारतका सम्पूर्ण राजकीय जीवनमा देखिएका जीवनका परिभाषाहरू फरकफरक तरिकाले बुझाउने कोसिस भएको छ । पारम्परिक रूपमा खेलिने नयाँ नयाँ खेलहरूमा र समयले खेल्ने नयाँ नयाँ नियतिको खेलका बारेमा बुझ्नका लागि सत्यवतीको जीवनलाई केलाएर हेर्दा नबुझिने छैन।

करिब ६ दशकका राजासँग विवाह भएपछि मत्स्यगन्धा या योजनागन्धा सत्यवती भइन्। दरबारकी महारानी भइन्। दरबारमा रानी बनाएर ल्याउने भएपछि उनको नामकरण सत्यवती भएको हुनुपर्छ। नत्र एउटा धीवरकी छोरी, त्यसमा पनि माछाको पेटबाट जीवित निस्किएकी, जसको नाम नै थिएन र उनको शरीरको गन्धका आधारमा नाम रह्यो– मत्स्यगन्धा। माछाको जस्तो गन्ध आउने, त्यो पनि कडा गन्ध थियो उनको शरीरको। नियतिको अघिल्तिर कसैको पनि केही लाग्दैन भन्ने कुराको प्रमाण सत्यवतीको जीवन गाथाले देखाउँछ।

वृद्ध महाराज शन्तनुको यौनेच्छाको अभीष्टता पूरा हुनका लागि विवाह हुनु जरूरी थियो। त्यसका लागि महाराजलाई सोच्ने पनि फुर्सद थिएन किनभने महाराजलाई राज्य सञ्चालनमा विश्वसनीय अन्तरङ्ग सहयोगी कोही पनि थिएन। महाराज शन्तनुलाई एकप्रकारले राज्य सञ्चालनमा सहजता त्यसपछि भयो, जब देवव्रत सम्पूर्ण शिक्षादीक्षा प्राप्त गरी गङ्गाको आदेशमा पिताको दरबारमा हाजिर भए, युवराजको रूपमा। महाराजमा स्वाभाविक रूपमा भावी राजाप्रति विश्वास हुने नै भयो। राजतन्त्रको एउटा विशेषता हुन्छ, राजा जहिल्यै पनि आफ्नो युवराजप्रति विश्वस्त हुनैपर्छ किनभने परम्परागत रूपमा राजाको उत्तराधिकारी त्यही युवराज हुन्छ र राजाको पदवी उसैले आफूमा स्वतः ग्रहण गरिरहेको हुन्छ। वृद्ध राजाले पनि आफ्नो उत्तराधिकार पाए अनि राज्य सञ्चालनको सम्पूर्ण जिम्मा त्यही देवव्रतलाई दिइरहेका थिए।

युवराजले कुरूवंशीय परम्पराअनुसार राज्य सञ्चालन गर्न थालेपछि र उनको सुयश सर्वत्र फैलिन थालेपछि महाराजामा अचानक यौनेच्छा जागृत हुन थाल्यो र महाराज आफ्नो यौनेच्छा सार्वजनिक रूपमा भन्न पनि सक्दैनथे तर निरापद यौन सुविधाको खोजीमा भने भौँतारिन्थे। उमेरका कारणले विवाहको प्रस्ताव राख्न पनि सक्दैनथे र कोसँग विवाह गर्ने भन्ने पनि समस्या थियो। राजा कुनै राजकुमारीको विवाहको स्वयंवरमा पनि जान सक्ने अवस्था थिएन। राजाले त जनतालाई बाटो देखाउने नेताको काम गर्नुपर्थयो र त्यस्तो गलत कामको नेतृत्व गर्न पनि शन्तनु महाराजलाई नैतिक बन्धनले गाँजेको पाइन्थ्यो।

यसैबीच राजा यायावरजस्तै घुम्दै फिर्दै जङ्गल, नदीको किनारा–किनारा घुम्न थाले। एकान्त घुमाइको कारण एकाकीपनबाट आफूलाई टाढा राख्नु पनि हुँदो हो र नयाँ नयाँ केही कुरा देख्न पाइन्छ कि भनेर अनुसन्धान गरेको पनि हुँदो हो। एउटा महक भने सधैँ राजाको नाकमा आउँथ्यो जुन महक दरबारमा कहिल्यै उनले अनुभूत गरेका थिएनन्। बाटामा हिँड्दा, जङ्गलमा डुल्दा र नदी किनारामा टहलिँदा एउटा अद्भुत बास्नाको भने राजाले अनुभूत गरेका थिए। राजालाई त्यो बास्नाको बारेमा कुनै जानकारी थिएन तर अद्भुत बास्नाले भने उनलाई वशीभूत गराउँदै थियो। यसलाई नियतिको खेल भनौँ या पत्नीविहीन राजाको दमित यौन चाहनाको प्रस्फुटन हुँदै थियो आफैँमा।

महाराजा शन्तनुलाई त्यो बास्नाको जरोसम्म पुग्न कुनै चाहना थिएन किनभने उनलाई गन्धको खोजी गर्नु नै थिएन। यथार्थमा मत्स्यगन्धा योजनासुगन्धा भएको प्रमाण माछाको गन्धबाट सुगन्धा भएको कारण पनि उनलाई थाहा थिएन। अझ त्यो बास्नाको जड बनेकी किशोरी उपरिचरकी छोरी हुन् भन्ने पनि राजालाई थाहा थिएन किनभने राजाले दाशराजकी छोरीलाई देखेका पनि थिएनन् र यो आफ्नो राज्य भित्रको कथा पनि उनलाई थाहा थिएन। तर उनको नाकमा एकप्रकारको नयाँ सुगन्ध भने ह्वारह्वार आइरहेको थियो तर कताबाट त्यो सुगन्ध आएको भन्ने उनलाई केही पनि थाहा थिएन।

एकदिन जब उनले नदी किनारामा डुङ्गा चलाउँदै गरेकी एउटी अति सुन्दरी अप्सरा जस्तै षोडशी कन्या देखे, उनको त्यो किशोरीप्रति पनि जिज्ञासा उत्पन्न भयो र सुगन्ध झनझन गाढा आएको भने उनले महसुस गरे। त्यो सुगन्धले वृद्ध शरीरमा एउटा अद्भुत तरङ्ग ल्यायो, त्यो तरङ्गले नयाँ आनन्दको खोजी गर्न थाल्यो। त्यस्तो तरङ्ग धेरै वर्ष अघि महर्षि पराशरमा पनि आएको थियो तिनै कन्यालाई देख्दा। त्यही चपलता महाराजमा पनि देखापरेको थियो र महाराजमा पनि कामदेवले तत्कालै वाण हानेका थिए। यो कुराको महसुस महाराज शन्तनुले राम्रैसँग गरे र अब त्यो कन्या जोसुकै होस् आफ्ना लागि जसरी पनि प्राप्त गर्नै पर्ने स्वनिर्णयमा महाराज पुगे। पराशरलाई माछाको गन्धले कामेच्छा जागृत भएको थियो भने अहिले माछाको गन्धलाई परिवर्तन गरी तयार गरिएको सुगन्धले महाराजलाई उत्तेजित गराएको थियो र महाराजमा त्यही केटी नै चाहिने लिँडे ढिपी उत्पन्न भएको थियो।

तर एउटा कुरा भने महाभारतमा कतै उल्लेख भएको पाइँदैन, त्यो सुगन्ध दाशराजको नाकमा आउँथ्यो कि आउँदैनथ्यो? दाशराजबाहेक अरूलाई पनि त्यो गन्धले उत्तेजित हुने गरी तरङ्गित बनाउँथ्यो कि बनाउँदैनथ्यो? मत्स्यगन्धाप्रति आकर्षित हुनेमा महर्षि पराशर र महाराज शन्तनु मात्रको बारेमा महाभारतमा वर्णन गरिएको पाइन्छ। मृग शावकझैँ गाउँ गाउँ, टोलटोल उफ्रिरहने त्यो मत्स्यगन्धालाई आफ्नो रुपको ज्ञान थियो कि थिएन? आफूमा अरूलाई तरङ्गित गराउने अद्भूत क्षमता विद्यमान छ भन्ने थाहा थियो कि थिएन? यदि थियो भने पनि महर्षि पराशरको अचानकको व्यवहारले उसको जीवनमा नयाँ परिवर्तन आएको थियो, त्यसको जानकारी स्वयं योजनासुगन्धालाई बाहेक अरूलाई थाहा पनि थिएन। पछि उनैका छोरा वेदव्यासले भने पछि विश्वले थाहा पाएको हो।

महाराजलाई जब त्यही डुङ्गामा बहाना लिएर वारपार गराउने केटी नै चाहिने भए पछि भने महाराजलाई एउटा समस्या नैतिकरुपमा टड्कारो देखियो– युवराजको बिहे गरेर कुरूवंशको अविच्छिन्न वंशतन्तु वृद्धि गर्नुपर्ने बेलामा महाराज स्वयं विवाहको लागि आतुर हुनुले नयाँ समस्या देखिएकै थियो तर त्यो समस्याको समाधान भने युवराज देवव्रतले मात्र गर्नसक्थे। विवाहयोग्य छोरो भएको ठाउँमा बाबुले नै छोरालाई केटी नै नखोजी आफैं बिहे गर्न लागिपरेको कथाले महाभारतमा नयाँ रोचकता थपेको पाइन्छ। पिता शन्तनुको धीवर कन्याको एकमात्र दर्शनले विवाह नगरी नहुने बेला पनि आयो, तर अरुका आँखा भने युवराजको बिहेको लागि पर्खेर बसेका थिए। महाराजको विहेको ढिपीले त्यसबेलामा नयाँ बाटो खनेको जस्तो हुन लाग्यो।

स्रोत : हरिविनोद अधिकारी/आईएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *