दुई महिनामै १ करोड ८० लाख रूपैयाँको सुपारीका बिरूवा बिक्री

झापामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रूपैयाँ बराबरका सुपारीका बिरूवा बिक्री भएका छन् ।

सुपारीखेती विस्तार हुन थालेपछि बिरूवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष नीलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरूवा बिक्री भएको बताए ।

‘अहिले बर्खाको समयमा किसानहरूले सुपारीका बिरूवा रोप्ने गरेका छन्,’ उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’

मेचीनगर-११, धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरूवाको माग धान्न हम्मेहम्मे भइरहेको बताए ।

जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरूवाको माग बढेको उनले बताए ।

रिजालले यसपालिको बर्खे अवधिका लागि भनेर १५ हजार बिरूवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरूवा बिक्री भइसकेको र अब पाँच हजार बिरूवा नर्सरीमा रहेको उनले जानकारी दिए ।

बिक्री भएका १० हजार बिरूवाबाट उनले १२ लाख रूपैयाँ आम्दानी गरेका छन् ।

किसानहरूले सुपारीका बिरूवा प्रतिगोटा एक सयदेखि १२० रूपैयाँसम्ममा किनेर लैजाने गरेका छन् ।

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरूवा बिक्री गर्दै आएका छन् ।

‘सहकारीले उत्पादन गरेका बिरूवासमेत खरिद गरेर किसानहरूलाई बेच्दै आएको छु,’ उनले भने, ‘मागअनुसारको बिरूवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।’

भारतीय व्यापारीले टिस्युकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरूवासँग भने किसानहरू होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउँछन् ।

‘सुपारीका बिरूवा रोपेको ६ वर्षमा फल्ने हो, तीन वर्षमा होइन,’ उनले भने, ‘किसान साथीहरू होसियार हुनुहोस्, टिस्युकल्चर गरेको सुपारीकै बिरूवा हुँदैन ।’

सुपारीका बिरूवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरूवा प्रयोग नगर्न पनि उनले आग्रह गरिन् ।

सुपारी उत्पादक किसान सङ्घ, नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार ६७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए ।

केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरूवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ ।

झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्तीलगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रूपमा सुपारीतर्फ आकर्षित भएका हुन् ।

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदेबाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ ।

नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए ।

उनले जोनअन्तर्गत ७७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताए ।

यहाँका नर्सरीहरूमा उत्पादित सुपारीका बिरूवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् ।

नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरूवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर