यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठिक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । आज मात्रै उपत्यकाको सात दोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठिक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए।

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका एक जना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५५३ नम्बरका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब जाँच गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकले नशालु पदार्थ सेवन गरे/नगरेको जाँच गर्दै आएको छ ।

केही दिनअघि मात्रै काठमाडौँको कुलेश्वरमा लागूपदार्थ सेवन गरेर गाडी चलाउँदा सोही गाडीको ठक्करबाट विपरीत दिशाबाट सडकपेटीमा हिँडिरहेका तीन यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *