नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही

आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ ।

कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट रु. एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिए । बिलबिजक अनुसन्धानको क्रममा आयकरतर्फ रु. ७१ करोड ८३ लाख ९९ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ रु. ३२ करोड ९८ लाख २५ हजार कर निर्धारण गरिएको छ ।

यहाँ रहेका कवाडी व्यवसायी, हार्डवेयर, किचनका सामग्री बिक्री गर्ने पसल र कपडा पसलको दुईदेखि तीन आर्थिक वर्षसम्मको विवरण अनुसन्धान गर्दा यस्तो भेटिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनकाअनुसार सबैभन्दा धेरै नक्कली भ्याट बिल बनाउनेमा कवाडी व्यवसायी रहेका छन् ।

यस्तै कार्यालयले गत वर्ष दुई सय २७ पटक बजार अनुगमन गरी रु सात करोड ५१ लाख जरिवाना असुल गरेको छ । कार्यालयमा दर्ता भएका व्यावसायिक फर्ममध्ये पाँच सय ६९ वटाको लेखा नम्बर बन्द गरिएको छ । यहाँ दुई हजार छ सय १७ जनाले लेखा नम्बर बन्द गराउन निवेदन दिएका थिए । भट्टराई भने, लेखा नम्बर बन्द गर्नका लागि दिएका निवेदनको राजश्व बाँकी रहेको नरहेको हेरेर मात्र काम गर्न सकिने हुँदा कम संख्यामा करदाताको लेखा नम्बर बन्द गरिएको हो ।

गत आर्थिक वर्षमा तीन हजार सात सय ५६ जना व्यवसायीले नयाँ व्यावसायिक लेखा नम्बर लिएका छन् । यस कार्यालयमा हाल व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या ५७ हजार नौ सय १९ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर