शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग बाघलाई ‘डार्ट’ गर्ने सुविधा नहुँदा समस्या
कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका बस्तीमा मानव वन्यजन्तुबीचको द्वन्द्वले बेलाबेला समस्या हुने गरेको छ। बिहीबार पनि यस्तै भयो। दोधारा चाँदनी नगरपालिका-२ की हीरादेवी शाहको घर नजिकै खेतमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भयो।
दिन दहाडै बाघले घिसार्दै शाहलाई उखुबारीभित्र लगेर मृत्यु भएपछि दोधारा चाँदनीमा शोक र त्रास छ। घटना लगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, स्थानीय प्रशासन, नेपाली सेनासहितको टोलीले बिहीबार दिनभर बाघ नियन्त्रणमा लिन खटियो।
निकुञ्जबाट बाघ नियन्त्रणमा लिन चारवटा हात्तीसहितको टोली परिचालन भएको थियो तर त्यो प्रयास सफल भएन। रातभरि घटनास्थलमा पहरा दिइयो तर बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको प्राविधिक टोली बर्दिया राष्ट्रिय निकुञ्जबाट बोलाउनुपर्यो।
‘डार्ट’ (औषधियुक्त सुई प्रहार) सहितको टोलीले आज उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो।
बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।
‘बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए। आज पाँच वटा हात्तीसहित खटिएको प्राविधिक टोलीले बाघलाई सयन्त्रणमा लिन सफल भएका हौँ’, उनले भने।
३६ वटा पाटे बाघ रहेको शुक्लाफाँटासँग डार्ट गर्ने प्राविधिक सामग्री उपलब्ध नहुँदा बर्दियाबाट टोली बोलाउनुपर्यो। अहिले पनि कञ्चनपुरमा कुनै घटना घटे डार्टका लागि बर्दिया राष्ट्रिय निकुञ्जको भर पर्नुपरेको छ। मानव वन्यजन्तु द्वन्द्व बढिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै डार्ट गर्ने प्राविधिक टोली हुनुपर्ने यहाँका स्थानीयको माग छ।
‘दुई दिनको अवधिमा शुक्लाफाँटा र दोधारा चाँदनीमा बाघले आक्रमण गर्यो तर यहाँको निकुञ्जसँग नियन्त्रणमा लिने प्रविधि रहेन छ। पटकपटक यस्ता घटना हुन्छन्, त्यसैले डार्ट गर्नका लागि बर्दियाको मुख ताक्नुपर्ने अवस्था राम्रो होइन यसको व्यवस्थापन निकुञ्ज कार्यालयले गर्नुपर्छ’, स्थानीय गणेश बोहराले भने।
डार्ट मात्रै होइन उद्धार गरेका बाघलगायत वन्यजन्तुको राख्ने ‘वन्यजन्तु उद्धार केन्द्र’ समेत छैन। यसैकारण आज नियन्त्रणमा लिएको बाघलाई बर्दिया पठाउनुपरेको छ। बोहरा मानव-वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज प्रशासनले पहल आवश्यक उपकरणसहितको व्यवस्था र उद्धार केन्द्रको व्यवस्था गर्नुपर्ने बताउँछन्।
निकुञ्जका संरक्षण अधिकृत ऐरले शुक्लाफाँटामै वन्यजन्तु उद्धार केन्द्र र डार्ट गर्ने व्यवस्थाका लागि पहल अगाडि बढेको बताए। ‘यहाँ बाघको सङ्ख्या बढेपछि हामीले पूर्वतयारीका लागि आवश्यक पर्ने साधन तथा उद्धारपछिको व्यवस्थापनका बारेमा पहल गरिरहेका छौ’, यहाँले भने, ‘डार्ट गर्ने जनशक्ति उपलब्ध भए पनि अन्य उपकरण छैन। अब त्यसको व्यवस्थापनमा लाग्छौँ।’
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाले वनजन्तु उद्धार केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ। विभिन्न कारणले बिरामी भएका तथा नियन्त्रणमा लिएर केही समय निगरानीमा राख्नुपर्ने जनावरलाई राख्नका लागि उद्धार केन्द्र निर्माणकार्य अगाडि बढाइएको कोषका कार्यक्रम प्रमुख लक्ष्मी जोशीले बताए।
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा उद्धार केन्द्र निर्माणको काम अघि बढेको छ’, उनले भने, ‘यसैगरी डार्ट गर्ने प्राविधिक जनशक्ति भए पनि उपकरण नहुँदा समस्या भएको छ, अब चाँडै त्यो उपकरण पनि उपलब्ध हुन्छ।’
केही समयदेखि कञ्चनपुरमा बाघ बस्तीमा आउने क्रम बढेको छ। गत साता मात्रै शुक्लाफाँटा नगरपालिकामा घर नजिकै गाईलाई घाँस हाल्ने क्रममा बाघले एक महिलालाई आक्रमण गरेर घाइते बनाएको थियो।
प्रतिक्रिया