घर बनेको प्रमाणपत्र लिन कर्मचारीलाई दिए घुस, बयान फेरेपछि आफैंविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने दुई जना सरकारी साक्षीविरूद्ध मुद्दा दर्ता गरेको छ ।

भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनाइएका चितवनको कालिका नगरपालिका-६ घर भई कास्कीको पोखरा महानगरपालिका-१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

पोखरा महानगरपालिकाकी कर्मचारी सबइन्जिनियर उषाकिरण रोकायासमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका उनीहरूले बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार तिवारी र पौडेलले पोखरा-१० मा निर्माण भएको आफ्नो घरको सम्पन्न प्रमाणपत्र पाउन शिवप्रसाद बराल, उषाकिरण रोकाया, सूरज कुँवरसमेतलाई ३ लाख ५० हजार रूपैयाँ घुस दिएको अनुसन्धानमा पुष्टि भएको छ ।

सो मुद्दामा उनीहरूलाई प्रतिवादी नबनाई सजायमा पूर्ण छुट दिएर सरकारी साक्षी बनाइएकामा उनीहरूले विशेष अदालतमा बकपत्रको प्रतिकूल हुने गरी बयान दिएको अख्तियारले जनाएको छ ।

उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अन्तर्गतको कसुरमा कैद सजाय, ३ लाख ५० हजार रूपैयाँ बिगो, बिगोबमोजिम जरिवाना र बिगोसमेत जफतको मागदाबी लिएर मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *