जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् ।

खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि उनले सम्बन्धित निकायलाई सचेत गराए ।

‘जनताको स्वास्थ्यसँग खेलबाड गर्न त पाइएन नि ! केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ । कहाँ जानुपर्ने म जान्छु,’ मन्त्री अधिकारीले भने, ‘अघि सचिवजीले तेलको, चाउचाउको काठमाडौं महानगरपालिकाले चेक गर्‍याे भन्नुभयो । त्यो राम्रो कुरा हो । सबै पालिकाहरूले गर्न सक्ने त राम्रो कुरा हो ।’

खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिवलगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याए । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउने गरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर