डीआईजी केसीको सरूवाबारे गृहमन्त्री : योग्य व्यक्ति योग्यतम ठाउँमा पुग्नुभयो (भिडियाे)

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) डा. मनोजकुमार केसीको सरूवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् ।

राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कर्मचारीहरूको सरूवा, बढुवा नियमित प्रक्रिया भएको बताए ।

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डीआईजीलाई दुई महिना नपुग्दै किन सरूवा गरेको भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा मन्त्री लेखकले यस्तो बताएका हुन् ।

हेर्नुहाेस् भिडियाे

उनले डीआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए । उनले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए ।

सरूवा गरेर डीआईजीको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रूपमा लिन उनले आग्रह गरे ।

‘उहाँ (डीआईजी केसी) अत्यन्त योग्य मानिस हो । र, योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि ! प्रहरी राम्रो बनाउनु प¥यो,’ गृहमन्त्री लेखकले भने, ‘अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिनका लागि राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डीआईजी गएर इन्सपेक्टर त आएको होइन होला नि ! अर्को डीआईजी आएको होला नि ! त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिइदिनुहुन म हात जोडेर प्रार्थना गर्छु ।’

गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *