लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयले गरे तालाबन्दी
ऐतिहासिक वस्तुहरूको चोरी र अनियमितताको आरोपसहित विभिन्न मागहरू राख्दै आन्दोलनरत स्थानीयले लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरेका छन् ।
कोषका पदाधिकारी/कर्मचारीले उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्यसचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो ।
महाअभियानका सहसंयोजक तथा स्थानीय अभियानकर्ता रामविकास चौधरीले माग गरेका सूचनाहरू पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले कुनै पनि हालतमा नदिने धम्की दिएपछि ताला लगाइएको महाअभियानले जनाएको छ । महाअभियानका संयोजक अकरामुद्दीन खाँले भने, ‘कोषको केन्द्रीय कार्यालय लुम्बिनीमै भए पनि काठमाडौँ बसेर केवल भत्ता बुझ्ने र अनियमित कार्य गर्ने पदाधिकारी र कर्मचारी लुम्बिनीलाई चाहिँदैन ।’
कोषको अनियमिततविरूद्ध प्रमाणसहित उभिँदा पनि वास्ता नगर्ने र लुम्बिनीभित्र स्थानीयलाई अघोषित प्रतिबन्ध लगाउन खोज्ने लुम्बिनी विकास कोषका वर्तमान पदाधिकारी र कर्मचारीलाई तत्काल हटाई सदिऔंदेखिको लुम्बिनीका अवैतनिक पहरेदार स्थानीयलाई नै लुम्बिनीको जिम्मा दिनुपर्ने माग राख्दै महाअभियानका संयोजक अकरामुद्दीनले भने, ‘मन्दिरका पुजारीलाई तत्काल पुनः बहाल गरी पूजापाठलाई नियमित गर्नुपर्छ ।’
चौधरीले माग गरेका सूचनाहरू तत्काल उपलब्ध गराई कोषले नागरिकको मौलिक हकको संरक्षण गर्न सके लुम्बिनीका अधिकांश बेथिति र अनियमितता बाहिर आउँछ र कारबाहीमा परिन्छ भन्ने डरले सूचनाहरू लुकाउन खोजिएको संयोजक खाँले आरोप लगाए । उनले भने, ‘उनीसँग प्रमाण रहेका लुम्बिनीभित्रका ३९ थान मूर्ति र बहुमूल्य सामानहरूको अवस्थाबारे सूचना चौधरीले नागरिक अधिकारको प्रयोग गर्दै मागेका छन् ।’
उत्खननका समय मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्ति र बोधिवृक्ष बेचिएको भन्दै लुम्बिनी बचाउ महाअभियानका अर्का सहसंयोजक मेघनाथ आचार्यले आक्रोश पोखे । उनले भने, ‘ऐतिहासिक तथा धार्मिक महत्त्वको मायादेवी सुत्केरी मार्गप्रति बेवास्ता गरिएको छ । सर्वोच्च अदालतको २०६४ माघ २३ को आदेशविपरीत संरक्षणका बहानामा प्रवेश शुल्क लगाइएको छ । मन्दिर तोडेर संरचना परिवर्तन गरिएको छ ।’
‘मायादेवी मन्दिरको गेटमा अवैज्ञानिक चेकजाँच र परिचयपत्रको बहानामा पर्यटक तथा स्थानीय समेतलाई पटकपटक दुर्व्यवहार गरिँदा सहेर बस्ने अवस्था अब छैन,’ आचार्यले थपे, ‘यहाँको माटो र जग्गासमेत गोप्य तरिकाले बेच्ने कोषका पदाधिकारी र संलग्न कर्मचारीलाई कारबाही हुनै पर्छ ।’
माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयको नाममा स्थानीयका लागि मास्टर प्लानले चिह्नित जग्गा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई प्रशासनिक भवन बनाउन र विदेशी संस्था चुजी फाउण्डेशनलाई गोप्य तरिकाले निर्णय गरी दिइएको जग्गा तत्काल फिर्ता गरिनुपर्ने उनले बताए । आचार्यले भने, ‘के र कुन निर्णय प्रक्रियाको आधारमा चुजी फाउण्डेशन नामक विदेशी संस्थालाई कोषले जग्गा बेचेको हो, प्रस्ट खुलाउनुपर्छ ।’
स्थानीयले कोषलाई दिएको एघार सय ५५ बिघाको मुआब्जा वितरणमा समेत कोषले बेइमानी गरेको उनले बताए ।
उनका अनुसार, ‘कोषले अधिग्रहण गरेको एघार सय ५५ बिघामध्ये पहिलो चरणमा अधिग्रहित एक सय बिघा, दोस्रो चरणमा काशी प्रसाद श्रीवास्तवले २२ बिघा, अन्य व्यक्तिले ५० बिघा तथा गाउँ ब्लकमा रहेका घरघडेरी, कुला, खोलानाला र सरकारी जग्गा करिब एक सय बिघा गरी कुल दुई सय ७२ बिघा जमिनको मुआब्जा स्थानीयले नबुझेको भए पनि मात्र ४९ बिघाको मुआब्जा नबुझेको चौधरीले कोषबाट प्राप्त गरेको सूचनामा बेइमानी प्रस्ट देखिन्छ ।’
लुम्बिनी बचाउ सङ्घर्ष समितिका संयोजक, लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक तथा सूचनाको हकका अभियानकर्ता रामविकास चौधरीले भने, ‘विश्व शान्तिका अग्रदूत तथा महामानव बुद्धको जन्मस्थलीका नागरिक राज्यबाटै ठगिँदा प्रत्येक नेपाली तथा बुद्धप्रति आस्था राख्ने सबै ठगिएको अनुभूति हुन्छ ।’ लुम्बिनीमा सूचना माग्दा आफूले पुरातत्त्व शाखा प्रमुख हिमाल उप्रेतीबाट धम्की खेप्नु परेको उनले सुनाए ।
‘लुम्बिनीमा सुशासन र पारदर्शिताको लडाइँ अब वारपारको हुनेछ,’ उनले भने, ‘यहाँ मूर्ति लुकाउने, बोधिवृक्ष जापानलाई बेच्ने, मन्दिरको स्वरूप मास्ने, जीवन्त सम्पदास्थलमा पनि परम्परागत पूजापाठ रोक्ने तथा ऐन, नियम र सम्झौताविपरीतका संरचना खडा गरी फाइदा लुट्ने, लुटाउनेविरूद्ध हामी छौँ । अब हद भयो, लुम्बिनीवासीले बुझिसके, आन्दोलनमा होमिइसके, दोषीलाई कारबाही गरेरै छाड्छौँ ।’
चौधरीले भने, ‘यसअघि हामीले बुझाएको १९ बुँदे मागपत्र र तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धतासहित कोषले गरेको १२ बुँदे समझदारीप्रति सरकार र सम्बन्धित निकायले ध्यान दिनै पर्छ ।’
जग्गा अधिग्रहणका समयमा तत्कालीन उपाध्यक्ष लोक दर्शन बज्राचार्यले स्थानीयसित गरेको ‘एक परिवार एक रोजगार’ को बाचा र लुम्बिनी विकास कोषमा स्थानीय मात्र हुन पाउने गरी लुम्बिनी विकास कोष ऐन २०४२ संशोधन हुनै पर्ने उनले बताए । ‘लुम्बिनीमा भए गरेका अनियमितताविरूद्ध छानबिन गरी दोषीलाई कारबाहीका साथै महाअभियानले प्रस्तुत गरेको लुम्बिनीवासीको सबै माग पूरा नहुँदासम्म ताला खोलिँदैन,’ चौधरीले भने ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यहारक्याल लामासित तालाबन्दीबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले उपाध्यक्ष भारतको नयाँ दिल्लीमा रहेको बताए । उनले भने, ‘तालाबन्दीको परिस्थितिबारे म पनि बुझ्दैछु । यस विषयमा लुम्बिनी बचाउ महाअभियानसित चाँडै नै वार्ता गरी जायज मागको सम्बोधन र समस्याको समाधान निकालिने छ ।’
चौधरीले माग गरेका कतिपय सूचना उनलाई उपलब्ध गराइसकिएको र केही सूचना प्राविधिक कारणवश दिन ढिलाइ भएको उनले स्वीकार गरे । उनले भने, ‘सुशासन र पारदर्शिता हामीले पनि चाहेका छौँ, दोषीलाई कारबाही हाम्रो पनि चाहना हो, हामी सबै मिलेर लुम्बिनीको संरक्षण, समृद्धि र विकासको काम गर्न जरूरी छ ।’
स्रोत : आईएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया