रहेनन् शास्त्रीय संगीतका गुरू गुरूदेव कामत
नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरूदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।
दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए । गुरूदेव निकट मानिने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो भने उनले तीन दिन अगाडिदेखि खाना खानसमेत छाडेका थिए ।
पौडेलले भने, ‘गुरूदेवले तीन दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीँ अन्त्य भयो ।’
साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरूदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए ।
दिवङ्गत भएका कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिए । शास्त्रीय सङ्गीतका गुरू कामत नेपाल-भारत क्षेत्रमा प्रख्यात छन् ।
प्रतिक्रिया