वृद्धवृद्धालाई सुरक्षाको चुनौती, शृंखलाबद्ध हत्याका घटना बढ्दो

बुढेसकालमा एक्लो जीवनको पीडासँगै वृद्धवृद्धालाई सुरक्षाको चुनौतीसमेत बढ्न थालेको छ । अवसर खोज्दै सन्तानहरू सहर र विदेश जाने प्रवृत्ति बढ्दै गर्दा ग्रामीण क्षेत्रमा वृद्धवृद्धाहरू एक्लिँदै गएका छन् । एकान्त घरमा परिवारबाट छुट्टै बस्दै आएका वृद्धवृद्धामाथि उनीहरूको सम्पत्ति लुटपाटको उद्देश्यले हत्याका घटना बढ्न थालेको प्रहरी विवरणहरूले देखाएका छन् ।

गत ९ साउनमा दोलखाको कालिञ्चोक– ६, पाटागाउँमा ७५ वर्षीया पदमकुमारी सुनुवारको हत्या भयो । घरमा एक्लै बस्दै आएकी सुनुवारको वृद्धभत्ता लुट्न लागि हत्या भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । वास बस्न भनेर उनको घरमा पुगेका सोही गाउँपालिकाका कृष्ण कार्कीले खुकुरी प्रहार गरी उनको हत्या गरेका हुन् । वृद्धाले हालै वृद्धभत्ता लिएको थाहा पाएपछि सुतिरहेको अवस्थामा उनले हत्या गरेका थिए । कार्कीलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

दोलखाका डिएसपी युवराज खड्काका अनुसार वृद्धाका श्रीमान्को एक वर्षअघि मृत्यु भएको थियो । कान्छा छोरा काठमाडौंमा बस्दै आएका छन् । जेठा छोराको मृत्यु भएको र उनको परिवार पनि छुट्टै बस्दै आएको थियो । वृद्धा घरमा एक्लै बस्ने थाहा पाएपछि वास बस्न गएका कार्कीले हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । डिएसपी खड्का भन्छन्, ‘सायद घरमा वृद्धा एक्लै नभएको भए यो घटना हुने थिएन ।’ कुरा गर्ने क्रममा महिलाले हालै वृद्धभत्ता बुझेको खुलेपछि त्यही लुट्का लागि आफूले हत्याको योजना बनाएको अभियुक्त कार्कीले बताएका छन् । यद्यपि, हत्यापछि आत्तिएर उनी त्यहाँबाट भागेका थिए ।

यस्तै, प्रकृतिको घटना गत १९ चैतमा पर्वतमा पनि भएको थियो । जलजला गाउँपालिका– २ मा बस्ने ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र ६३ वर्षीया गमला क्षेत्री घर्तीको मध्यरातमा काठको मुंग्रो र धारिलो हतियार प्रयोग गरी घरमै हत्या भएको थियो । उनीहरूको घर एकान्तमा थियो र त्यहाँ दुईजना मात्र बस्दै आएका थिए । उनीहरूसँग सुनको गहना र नगद रहेको सूचनाका आधारमा सोही गाउँका कृष्णबहादुर विश्वकर्मा र दीपक दर्जीले हत्या गरेका थिए । घटनाको एक महिनापछि प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । उनीहरूका दुई छोरा कोरिया तथा एक छोरा बेनीबजारमा बस्थे । सोही सूचना पाएर रातको समयमा घरभित्र प्रवेश गरी हत्या र लुटपाट भएको थियो ।

२६ मंसिर ०७९ मा धादिङमा पनि यस्तै घटना भएको थियो । त्रिपुरासुन्दरी गाउँपालिका– ३, मूलपानीमा ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया नीरमाया आलेमगरको घरमै हत्या भएको थियो । उनीहरूसँग भएको मोबाइल लुट्ने उद्देश्यले स्थानीय दुई किशोरले हत्या गरेका थिए । ८ र ६ कक्षामा पढ्ने बालकहरूले मोबाइलको लोभमा परेर हत्या गरेको खुलेको थियो । मोबाइलमा गेम खेल्नका लागि त्यसरी हत्या गरेको उनीहरूले बताएका थिए । सन्तान विदेशमा भएकाले मगरदम्पती पनि घरमा एक्लै थिए ।

६ माघ ०८० मा संखुवासभामा एक वृद्धाको लुटपाटकै लागि हत्या भएको थियो । ६२ वर्षीया दिलकुमारी घिमिरेलाई एकान्तमा भेटेर स्थानीय आकाश राईले बन्चरो हानी हत्या गरेर उनको गहना लुटेका थिए । मृतकका एक छोरा विदेशमा थिए भने अर्का छोरा अशक्त थिए । एक्लै भएको मौका छोपेर उनको हत्या भएको अनुसन्धानमा खुलेको थियो । संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठ भन्छन्, ‘सन्तानहरू सँगै नहुँदा वृद्धवृद्धा स्वाभाविक रूपमा असुरक्षित हुँदा रहेछन् ।’

२८ भदौ ०७९ मा धरानमा पनि एक्लै बस्दै आएकी वृद्धाको गहना लुट्नकै लागि हत्या भएको थियो । धरान– २० स्थित टोड्केमा पूर्णीमाया राईको हत्यापछि सम्पत्ति लुटिएको थियो । धनकुटाको साँगुरीगढी– ८ का १८ वर्षीय निखिल भनिने नकुल राई र सुनसरी भोक्राहाका रञ्जित साहले एक सातासम्म उनको घरमा निगरानी गरेर हत्या गरेको खुलेको थियो । उनीहरू लागुऔषध दुव्र्यसनी हुन् । लागुऔषधका लागि पैसा जुटाउन हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

वृद्धवृद्धा शारीरिक रूपमा कमजोर हुन्छन् । त्यसमा पनि एक्लै बस्ने भएकाले अपराधीको सजिलो निसाना पर्ने गरेका छन् । सुनका गहनामा लोभिएर पनि यस्ता घटना भएको एक प्रहरी अधिकारी बताउँछन् । ग्रामीण क्षेत्रमा घर एकान्तमा हुने र वृद्धवृद्धा मात्र हुँदा प्रतिकार गर्न नसक्ने भएकाले चिनजानकै व्यक्ति सम्पत्तिमा लोभिएर हत्या गरेका घटना धेरै रहेको प्रहरीको विवरण छ ।

ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधान एक्लोपनले वृद्धवृद्धालाई सुरक्षाको समस्या बढेकाले परिवारका साथै राज्यले पनि विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘हाम्रा धेरै सन्तान विदेशमा छन्, छोरा विदेश गएपछि बुहारी पनि सहर बस्ने चलन छ, जसकारण वृद्धवृद्धाहरू एक्लै पर्ने क्रम बढेको छ,’ उनी भन्छन्, ‘जसकारण वृद्धवृद्धा अपराधीको इजी टार्गेट’मा पर्ने गरेका छन्, उहाँहरूको सुरक्षामा गृह प्रशासनले विशेष योजना बनाउनु जरुरी छ ।’ संविधानको धारा ४२ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षणको हक हुने उल्लेख भएकाले त्यसकारण विशेष व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले ज्येष्ठ नागरिकका सुरक्षा समस्याबारे ध्यान दिन अन्तरनिकाय संयन्त्रका बैठकमा कुरा उठाउने गरिएको र गृह मन्त्रालयलाई समेत पत्राचार गरिएको बताइन् ।

एक्लै बस्ने वृद्धवृद्धालाई सम्पत्ति लुट्नकै लागि हत्या हुने घटना विभिन्न जिल्लामा देखिएको नेपाल प्रहरीका एआइजी टेकबहादुर तामाङ बताउँछन् । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लगत लिएर उहाँहरूको सुरक्षामा विशेष योजना बनाउँछौँ,’ उनले भने । नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर