कर्णालीमा विपद् : डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति, ९ जनाको मृत्यु

कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ बाराबरको क्षति भएको हो। सबैभन्दा धेरै दैलेखमा ७० लाखको क्षति भएको तथ्यांक छ। यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ। यस्तै जाजरकोटमा ३३ वटा घटना हुँदा रु ३० लाख, सल्यानमा २४ वटा विपद्जन्य घटनामा रु ५१ लाख ३० हजार, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट रु १६ लाख ९९ हजारको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।

कालिकोटमा एक सय दुई मनसुनजन्य घटनामा १८ लाख ५० हजार, जुम्लामा चार घटनामा ४० लाख, डोल्पामा १६ वटामा रु १९ लाख ५० हजारको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका उनले जानकारी दिए।

विपद्का घटनामा नौ जनाको मृत्यु 
सोही अवधिमा कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी नौको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। जसमध्ये सुर्खेतमा दुई, दैलेखमा एक, जाजरकोटमा दुई, रुकुम–पश्चिममा चारको मृत्यु भएको हो। रुकुम–पश्चिका एक जना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताउनुभयो।

यसैबीच ४६ जना घाइते भएका छन्। घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका सात, दैलेखका चार, सुर्खेत र डोल्पाका एक/एक जना रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर