अहिलेका मन्त्रीहरूलाई ‘स्टन्ट’ गर्न जरूरी छैन : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरूलाई ‘स्टन्ट’ गर्न जरूरी नरहेको बताएकी छन् ।

बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेका र आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरूरी नरहेको जिकिर गरिन् ।

‘सरकारमा रहेका दुई पार्टीहरू धेरै नै पुराना पार्टीहरू छन् । हामीले काम गर्न सक्छौं,’ मन्त्री राणाले भनिन्, ‘हामीले देशको लागि केही गर्न सक्छौं भनेर स्टन्ट गर्नुपर्ने जरूरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौं ।’

उनले अहिले सरकारमा रहेका मन्त्रीहरूलाई र राजनीतिक दललाई हामी नै राम्रो हौं भन्ने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताइन् । उनले अहिलेको सरकारले अर्थ-कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताइन् ।

उनले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताइन् । उनले दुवै राजनीतिक दलहरूको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिबद्धता जनाइन् ।

मन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्‍याउने दाबी गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर