वरिष्ठ रथी सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी

नेपाली सेनाका वरिष्ठ रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीनवर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्पराअनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बुधबार जानकारी दिए ।

जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । उनीबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो ।

जंगीअड्डामा ३ साउन २०८१ मा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलले जिल्ला प्रशासन कार्यालय, रूपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र पछि लिएको ‘प्रथम प्रतिलिपि’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मिति फरक नपरेको बताएका थिए ।

सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र र तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि जन्ममिति फरक नपरेको उनको भनाइ थियो ।

योसँगै कामु प्रधानसेनापति सिग्देल २६ भदौपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *