सुनसरीका दुई सय चार उद्योग खारेज

सुनसरीमा २०८०/८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् ।

उनले भने, ‘आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ ।’ उनका अनुसार गत आवमा सुनसरीमा पाँच सय ६६ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिँदा कार्यालयले रु १८ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उद्योगतर्फ रु एक करोड एक लाख ७४ हजार दुई सय ६०, वाणिज्यतर्फ रु एक करोड १२ लाख ५७ हजार पाँच सय ४० र बिक्री आयबाट रु ७० हजार गरी कुल रु दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।

गत आवमा सुनसरीका एक सय २४ साना तथा मझौला उद्योगले पुँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले रु ४४ करोड ५३ लाख १३ हजार पुँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले रु दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । गत आव २०८०/८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले रु ६७ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर