समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदाे रहेछ…

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल समावेशी नभएकामा असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजका बैठकको विशेष समयमा उनले समावेशी मन्त्रिमण्डल गठन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको टिप्पणी गरे ।

‘समावेशी प्रतिनिधित्व संविधानमा लेखेर मात्रै हुँदो रहेनछ, नेतृत्वको दृढ इच्छाशक्ति भयो भने संविधानमा नलेखे पनि हुँदो रहेछ भन्ने उदाहरण २०१५ सालको संसदीय निर्वाचन र २०१६ कोे मन्त्रिमण्डललाई लिन सकिन्छ’, उनले भने, ‘पहिलो आम निर्वाचनपछिको १९ सदस्यीय मन्त्रिमण्डलमा छ जनजाति, दुई मधेसी, थारु र महिला एक÷एक जना हुनुहुन्थ्यो ।’

तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले सुदूरपश्चिमका द्वारिकादेवी ठकुरानीलाई मन्त्री बताएको स्मरण गर्दै उनले वर्तमान मन्त्रिपरिषद् गठनमा त्रुटी भएको टिप्पणी गरे । राजनीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उनले सरकारले जनताको आशाअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले देश र जनताका अगाडि आएका समस्या समाधानमा बहस नभई राजनीतिक दलबीचको आरोप र प्रत्यारोपले जनतालाई निराश बनाएको बताए । समावेशिता नेपाली राजनीतिका सिद्धान्त भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले संविधान संशोधनमार्फत समावेशितालाई प्रगाढ बनाएर लैजाने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद दुर्गा राईले संसद्मा सत्ता पक्षले प्रतिपक्षमाथि निषेध गर्न खोजेको आरोप लगाउँदै सत्ता गठबन्धनले मुलुकलाई सुशासन र समृद्धि दिन नसक्ने ठोकुवा गरे । ‘नयाँ समीकरणका बारेमा जनतालाई स्पष्ट थाहा छ, सुशासनलाई कमजोर पार्न सरकारले अनियमितताको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेको छ’, उनले प्रश्न गरे, ‘सरकारको ध्यान कता गइरहेको छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले तथ्यमा आधारित रहेर संसद्मा बहस हुनुपर्नेमा जोड दिँदै कोही, कसैले विषयलाई अतिरञ्जित गर्न नहुने बताए । ‘नयाँ शक्तिलाई गलाउने, झुकाउने, व्यङ्ग्य गर्ने, झुट बोलेर पन्छाउन सकिन्छ कि भन्ने दुष्शाहस कसैले नसोच्नु होला’, उनले भने, ‘नेपालको हितलाई केन्द्रमा राखेर बदलिँदो विश्व समुदायबाट कसरी लाभ लिने भन्ने हामी स्पष्ट छौँ, सबैसँग तथ्यगत बहस गर्न तयार छौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले मुलुकको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीले जिल्ला भ्रमण गर्दा जनताले भेट गर्न नपाउनु बिडम्बना भएको बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयको स्तर तीव्र गतिमा खस्किरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै शैक्षिक पात्रो प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर