राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरूङको आज ‘ब्रेक थ्रु’ भएको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । रघुगङ्गा गाउँपालिका-४, दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३, तिल्केनीचौरसम्म जोड्ने सुरूङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । सो सुरूङमार्ग खन्ने क्रममा चारवटा पहुँचमार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ ।

रघुुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नं २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरूङमा संयुक्त रूपमा ‘स्विच’ थिचेर विस्फोट गराई ‘ब्रेक थ्रु’ गनरेका हुन् ।

अडिट १ बाट आठ सय ७५ र अडिट २ बाट एक हजार चार सय ५८ मिटर सुरूङ निर्माण भएको हो । गत फागुनमै जोडिएको तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नं अडिटको सुरूङलाई लाइनिङ (प्लास्टर) गर्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरूङ निर्माण भएकामा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजीकरण एवं समन्वय गरेको बताए ।

रघुगङ्गा गाउँपालिका-३, पिप्लेस्थित मुख्य सुरूङको आउटलेट (अन्तिम बिन्दु) देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट सुरूङ गत जेठ महिनामा जोडिएको थियो । मुख्य सुरूङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइपलाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ ।

जलविद्युत् आयोजनामा सुरूङ निर्माण कार्यलाई प्राविधिकहरूले प्रमुख उपलब्धिका रूपमा लिने गर्दछन् । सुरूङ ब्रेक थ्रु भएकामा प्राधिकरण, प्रवर्द्धक, निर्माण कम्पनी, परामर्शदाता तथा जनप्रतिनिधिहरूले खुसियाली व्यक्त गरेको छन् । यसरी सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न आयोजना प्रमुख राजबहादुर विष्टले जानकारी दिए ।

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले २०७६ असार ८ गते पिप्लेस्थित अडिट नं ३ बाट सुरूङ निर्माण थालेको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी-पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको थियो । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । सो आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) बमोजिम राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० सालमा सम्पन्न हुनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएको सो जलविद्युत् आयोजनालाई आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको छ ।

उक्त गाउँपालिका-४, दग्नाम र ५ नं वडा, झीँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण भइरहेको छ ।

बेनी-जोमसोम-कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर