भारतको केरलमा पहिरोमा परी एक नेपालीसहित ४० बढीको मृत्यु
भारकाे केरलमा गएकाे पहिरोमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान केरलको वायनाड जिल्लामा गएको पहिरोमा परी उक्त मानवीय क्षति भएको हो ।
केरल सरकारका मन्त्री एमबी राजेशले अहिलेसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या यसभन्दा बढी हुन सक्ने बताएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।
पहिरोमा परी एक जना नेपालीको पनि मृत्यु भएको छ । टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ । यसबारे विस्तृत विवरण भने आइसकेको छैन ।
उद्धार कार्यका दौरान २५० जनाको उद्धार गरिएको छ ।
केरलकी स्वास्थ्यमन्त्री वीणा जर्जले मंगलबार बिहान २-३ बजे पहिरो गएको बताएकी छन् ।
यसअघि उनले २४ जनाको शव अस्पताल लगिएको छ र करिब ७० जना घाइते भएको बताएकी थिइन् ।
अत्यावश्यक चिकित्सा औषधिहरू वायनाडका अस्पतालहरूमा पुर्याउने काम भइरहेको छ ।
पहिरोमा ठूलो संख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
वनमन्त्री एके ससेन्द्रनले अहिले नै पहिरोमा फसेका मानिसको संख्या यकिन गर्न मुस्किल रहेको बीबीसीलाई बताएका छन् ।
एनडीआरएफ, कन्नुन डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकोप्टर उद्धार कार्यमा जुटेका छन् । तर, वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो गएको स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रूपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।
केही दिनयता केरलका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । वर्षाले मुन्डक्काई, अट्टामाला र कुनहोम सबैभन्दा धेरै प्रभावित भएका छन् ।
प्रतिक्रिया