माओवादी केन्द्रको निस्कर्ष : पार्टीको वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

नेकपा (माओवादी केन्द्र) ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निष्कर्ष निकालेको बताएको हो ।

बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रवारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राख्नुभएको र अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिनुभएको पनि जानकारी दिए । उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निष्कर्षमा नेताहरूको रहेको पनि बताए ।

उनले भने ‘आजसम्म १८ जना कमरेडले आफ्ना धारणा राख्नुभयो । हामीले समयको पावन्दी तोकेका थिएनौँ । स्पष्ट रुपमा आफ्ना भनाइ राख्न भनेका थियौँ । पहिलो दिन प्रस्तुत भएको एजेण्डामा नै छलफल भयो । वर्तमान परिस्थिति र पार्टी निर्माण थियो । पार्टी निर्माणमा सबैभन्दा बढी जोड शुद्धिकरण्मा दिइएको छ । शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाइ जनतामा जाने कुरामा जोड दिइएको छ । पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । यसमा पनि हाम्रो व्यापक छलफल भएको छ । वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ ।’

प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *